
वर्षाले बाटो बिग्रिएरपछि काठमाडौँ उपत्यकाको फोहोर उठाउने काम अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइट जाने बाटो बिग्रिएर फोहोर फाल्ने काम अवरुद्ध भएको हो ।
काठमाडौँ महानगर प्रहरी प्रमुख पूर्णचन्द्र भट्टका अनुसार वर्षाले बाटो विगारेकाले फोहोर फाल्ने ठाउँसम्म गाडी पुग्न सकेको छैन । उहाँले भन्नुभयो,“वर्षाले करिब ८० मिटर बाटो बगाएको छ, बाटो नबन्दसम्म काम हुँदैन, पानी परेन भने छिटो बाटो बन्छ र फोहोर फाल्ने काम सुचारु हुन्छ ।” यसको लागि काम भइरहेको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
काठमाडौँबाट फोहोर उठाएर फाल्न गएको गाडी बाटोमै उभिएको छ । फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलमा सडकको काम गुणस्तरीय नभएको भन्दै स्थानीयवासीले आफ्नो घर अगाडि फोहोर बोकेको गाडी रोकेर दुर्गन्घ फैलाएको आरोप लगाएका छन् ।
वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार कोरोना महामारीको बेला जो कोहीको घर अगाडि फोहोर लिएर गाडी उभियो भने काराउ छ । उहाँले भन्नुभयो,“ सिसडोलमा फोहोरको पहाड छ, त्यसलाई व्यवस्थापन गर्नुछ, अहिले पानी परेर काम गर्न सकिएको छैन तर फोहोर व्यवस्थापनको लागि डोजर लगाएर काम हुँदैछ ।”
फोहोर व्यवस्थापनको लागि प्रयाप्त ठाउँ नहुँदा बेला बेलामा समस्या उत्पन्न हुने गरेको उहाँले बताउनुभयो,“यस्तो बेला जति सक्यो चाडै फोहोर व्यवस्थापन गर्नुपर्छ, दुर्गन्ध फैलिंदा संक्रमण फैलिने संम्भावना हुन्छ, कोरोना महामारीको समय छ, हामी सबै जना सचेत हुन आवश्यक छ ।” उहाँले स्वास्थ्यलाई फोहोरले नराम्रो असर गर्न सक्नेतर्फ औल्याउनुभयो ।
डिएसपी भट्टका अनुसार काठमाडौँबाट फोहर बोकेर करीब एक सय वटा गाडी अहिले सिसडोल वर रोकिएका छन् । काठमाडौं उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० भन्दा बढी टन फोहरको विसर्जन सिसडोलमा गरिँदै आएको छ ।