७ बैशाख २०८१, शुक्रबार

‘अहिले पनि सामन्तवादी प्रवृत्ति हाबी नै छ, त्याग गर्न तयार रहनुहोला’

prachanda 4

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा रुपान्तरण आवश्यक रहेको बताएका छन् ।

आइतबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले पनि चुनौती र खतरा छन् । त्यसैले हामी जिम्मेवार भएर अघि बढ्नुपर्ने छ । रुपान्तरण आवश्यक छ, हामीले सक्नैपर्छ । हामी एउटा उचाइमा पुग्नैपर्छ । हामी सबैले रुपान्तरण गर्ने अभियान यो बैठकले गरेको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

प्रचण्डले तलैसम्म नेपाली जनतासित जोडिन नेताहरुलाई आग्रह गरे । ‘हामीले त्यस्तो केही खोजी गर्नुपर्‍यो। यो मेरो राजनीतिक प्रस्तावमा प्रस्ट लेखेको छ’ प्रचण्डको भनाइ थियो ।

‘राजतन्त्रको अन्त्य भयो । गणतन्त्र आयो । यसो हेर्दा हामीले सोचेको जस्तो केही त भयो पनि । तर, अहिले पनि सामन्तवादी प्रवृत्ति हाबी नै छ ।,’ उनले भने ।

जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डको दावी छ । ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ बैठकमा प्रचण्डले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं ।’