७ बैशाख २०८१, शुक्रबार

जिल्ला समितिहरू खारेज गर्ने माओवादीको निर्णय, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो’ !

moist center 3

नेकपा (माओवादी केन्द्र)ले आफ्नो जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।

माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।

बैठकमा प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सीधै जनतामा… ।’

अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए ।

जिल्ला कमिटीको साटो जिल्ला समन्वयन कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार सम्पन्न केन्द्रीय समितित बैठकले जिल्ला समिति खारेज गरेको हो ।

प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेसम्मका जिल्ला समितिहरू खारेज गरिएको छ। अब जिल्ला समन्वय समितिहरू रहनेछन् ।’

महत्त्वपूर्ण निर्णयहरु लिँदै र निष्कर्ष निकाल्दै बैठक सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै, त्यस्तै विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।