१२ बैशाख २०८१, बुधबार

चार महिनापछि वीरगन्जका विद्यालय सञ्चालन

वीरगञ्ज महानगरपालिकाका विद्यालय आजबाट सञ्चालनमा 768x396 1

कोरोना सङ्क्रमणको कारण बन्द भएका बीरगंज महानगरपालिकाका विद्यालयहरू झन्डै ४ महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा आजबाट सञ्चालनमा आएका छन् ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको भौतिक उपस्थितिमा निजी तथा सार्वजनिक विद्यालय आजबाट सञ्चालनमा ल्याइएको बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताउनुभयो ।

आज पहिलो दिन विद्यालय सञ्चालनमा आए पनि अत्यधिक वर्षाका कारण विद्यार्थीको उपस्थिति न्यून रहेको विद्यालयहरूले जनाएका छन् । माई स्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक मुर्तुजा अन्सारीले पहिलो दिन ५० प्रतिशत विद्यार्थी विद्यालयमा उपस्थित भएको जानकारी दिनुभयो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएपछि बन्द भएको पठनपाठन झन्डै ४ महिनापछि वीरगन्जका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा सुरु भएको छ ।

निजी विद्यालय र केही सामुदायिक विद्यालयहरूले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित रहेका थिए ।

वीरगञ्ज महानगरपालिकाले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रो पटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने सूचना जारी गरेको थियो । विगतमा कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेदेखि नै विद्यालय सञ्चालन गर्ने तयारी थालेको थियो ।

तर जिल्ला स्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा हटाई बजार खोल्ने निर्णय गरे पनि विद्यालय सञ्चालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् । विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै अभिभावकको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा आजबाट सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताउनुभयो ।

स्थानीय तहले पाएको अधिकार प्रयोग गर्दै विद्यालय सञ्चालन गरिएको बताउँदै सरावगीले आगामी दिनमा अवस्था हेरेर साना कक्षाहरू समेत सञ्चालन गरिने बताउनुभयो ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले वीरगन्जमा कोरोना संक्रमण नियन्त्रणमा देखिएको र विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न महानगरले गरेको आग्रह अनुरूप विद्यालयहरू सञ्चालनमा आएको बताउनुभयो ।