१४ बैशाख २०८१, शुक्रबार

व्यासका वासिन्दाको पीडा : एसएसबीले तुइन हटायो, सडक निर्माण सुस्त, खाद्यान्न सङ्कट झेल्दै

bas bato

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकालीमा लगाइएका तुइन हटाइदिएपछि दार्चुलाको विकट क्षेत्र व्यासका बासिन्दाले सास्ती भोग्नुपरेको छ । तुइन बन्द हुँदा व्यास गाउँपालिका–२ मालगाउँमा खाद्य सङ्कट थपिएकोे छ ।

साउन १५ गते व्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली तर्दै गर्दा एसएसबीले तुईन फुकालेको कारण नदीमा खसेर बेपत्ता हुनुभएको थियो । बेपत्ता धामीको शव अहिलेसम्म फेला परेको छैन ।

भारतले शव खोज्न महाकालीमा ड्रोन क्यामेराको प्रयोग गर्न सहमति नदिएपछि नेपालतर्फको भूभागमा मात्रै ड्रोन प्रयोग गरिएको छ ।

घटनाका प्रतक्षदर्शीहरुले एसएसबीले तुइन फुकालेको कारण जयसिहको ज्यान गएको बयान दिएपछि भारतीय पक्षले महाकालीको अरु ठाउँमा लगाइएका तुइन हटाइदिएको छ । तुइन सञ्चालन नभएपछि मालगाउँमा खाद्यसङ्कट निम्तिएको स्थानीय नरेन्द्र धामीले बताउनुभयो ।

मालघाटमा पुनः तुइन जोड्न भारतीय पक्षले दिएको छैन्, उहाँले भन्नुभयो, गाउँ नजिक नेपालतर्फ न बजार छ, न सडक नै पुगेको छ, भारतबाट किनेर ल्याउन एसएसबीले महाकाली नदीमा लगाइएका तुइन नै हटाइदिएको छ ।

तुइन काटिएपछि मालगाउँमा चामल, नुन–तेललगायत खाद्यान्न अभाव सिर्जना भएको धामीले बताउनुभयो । मालगाउँमा बजार नहुँदा स्थानीय नागरिकलाई दैनिक उपभोग्य वस्तुको जोहो गर्न भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ ।

तुइन हटाएपछि गाउँमा के खाने भन्ने चिन्ता थपिएको छ, सरकारले कुनै विकल्प नदिए भोकमरीको अवस्था सिर्जना हुने स्थानीय हरक कार्कीले बताउनुभयो ।

व्यास गाउँपालिका पुग्न नेपालतर्फ सुरक्षित बाटो छैन । नेपालतिरको घुमाउरो र बाढी पहिरोले क्षतिग्रस्त सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम छ । रित्तै जान जोखिम मोल्नुपर्ने बाटोमा भारी बोक्न सम्भव नरहेको कार्कीले बताउनुभयो ।

व्यास हुँदै तिङ्कर भञ्ज्याङ जोड्ने उद्धेश्यले २०६५ सालदेखि निर्मार्णाधीन दार्चुला तिङ्कर सडक १३ वर्षमा ४३ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । एक वर्ष पहिले नै सुन्सेरासम्म पुगेको सडक निर्माणको काम पछिल्लो समय अलपत्र परेको स्थानीयको गुनासो छ ।

व्यास गाउँपालिका–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल छ । यो पुलबाट व्यासको ५ र ६ नम्बर वडाका बासिन्दालाई पायक परे पनि १, २, ३ र ४ नम्बर वडाका नागरिक जोखिमपूर्ण तुइनकै सहारामा छन् । लुकिछिपी प्रयोग गर्दै आएको तुइन समेत बन्द भएपछि व्यासवासीलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।

महाकालीमा लगाइएका आधादर्जन तुइनहरू बन्द हुँदा आवातजावत गर्न र खाद्यान्न, लुगाकपडा लगायत सामाग्री ल्याउन समस्या भएको छ । महाकाली नदीमाथि तुइन विस्थापन कार्यक्रम अन्तरगत झोलुंगे पुल शिलान्यास भएको तीन वर्षसम्म पनि निर्माण सम्पन्न भएका छैन । पुलहरु समयमै निर्माण सम्पन्न नहुँदा व्यास क्षेत्रका स्थानीयहरु भारतीय बजारबाट तुइनकै साहारामा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्दै आएका थिए ।

तुइन तरेर दार्चुला सदरमुकाम खलंगा पुग्न चार÷पाँच घण्टा मात्रै समय लाग्ने तर नेपालतर्फबाट खलंगा पुग्न दुई दिन लाग्ने भएकोले व्यासबासीको ज्यान जोखिममा राखेर तुइन तर्नुपर्ने बाध्यता छ ।

जयसिह बेपत्ता भएको घटनामा एसएसबीको दोष देखिएपछि सीमाक्षेत्रमा एसएसबीले सुरक्षा निगरानी बढाइएको छ ।

तुइन फुकाउने एसएसबीको सरुवा गरिएको स्रोतले जनाएको छ । सीमाक्षेत्रमा भारतको ज्यादती तथा दुर्व्यवहार रोकिएको छैन । विगतमा पनि मालका स्थानीयले भारतीय बजारबाट किनेर ल्याएको सामान एसएसबीले जफत गर्ने, महाकालीमा बगाउने, दुर्व्यवहार गर्ने गरेको स्थानीयहरुको गुनासो छ ।

नेपाल सरकारले गाउँसम्म पुर्वाधारको निर्माण नगरिदिदा भारतीय ज्याजती सहेर नै दैनिकी चलाउनुपर्ने व्यासबासीको विवशता रहेको स्थानीय दीपक भट्टले बताउनुभयो ।