२६ बैशाख २०८१, बुधबार

काठमाडौं-रक्सोल रेलमार्गको अध्ययन हुँदै

Nepal Railway

सरकारले रक्सोल–काठमाडौं रेलमार्गको अध्ययन सुरु गरेको छ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकेशन सर्भे गर्न लागेको हो । यसका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत अघि बढेको छ ।

सम्झौताका लागि पूर्व तयारी भइसकेको रेल विभागका महानिर्देशक दीपक भट्टराईले जानकारी दिए । उनले भने, “भारत सरकारकै लागतमा फाइनल लोकेशन सर्भे गर्न लागिएको हो । भारतीय रेल्वे कम्पनीको एउटा गाइडलाइन रहेको छ, त्यसको आधारमा सर्भे गर्न लागिएको हो ।”

सरकारले पूर्णता प्राप्त नगरेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि मन्त्रीविहीन भएकाले कहिले कुन मितिमा सम्झौता हुने भन्ने मिति तय नभएको जनाइएको छ । राजनीतिक तहको प्रकृया पूरा गर्नुपर्ने भएकाले मन्त्री नियुक्त नभै मिति तय नहुने सम्भावना रहेको छ ।

दुई पक्षबीच भएको सम्झौताको मितिले भारतीय पक्षले १८ महिनाभित्रमा १ सय ३५ किलोमिटर लामो परियोजनाको प्रतिवेदन बुझाउने छ ।

परियोजनाको भौगोलिक अध्ययन पूरा गरेपछि मात्र के कसरी परियोजनाको निर्माण कार्य अगाडि बढ्ने बारेमा टुंगो लाग्ने बताइएको छ । समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।