१५ चैत्र २०८०, बिहीबार

नेपाली कांग्रेसभित्र पौडेल र देउवाको आआफ्नै अडान: महाधिवेशनको नयाँ कार्यतालिकामा सहमति जुटेन

Deuba Poudel
फाइल फोटो

एकपछि अर्काे महाधिवेशनको मीति सार्दे आएको नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ ।

महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न नसकेको हो ।

बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो ।कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा जारी छ ।

बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेस गर्ने एजेण्डा थियो तर शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले निर्वाचन निर्देशिका पेस गरेका थिए भने क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताबारे ब्रिफिङ गरेका थिए ।

‘केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउँछ,’ प्रवक्ता शर्माले भने । प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक नगर्ने घोषणा गरेका देउवाले पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताको धर्नाका कारण आफ्नै निजी निवासमा केन्द्रीय समिति बैठक बोलाएका हुन् । भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिकाका बारेमा शीर्ष तहमा छलफल भइरहेको छ ।

कांग्रेस सभापति देउवा निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि नयाँ कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने क्रियाशील सदस्यता विवाद नटुंग्याएसम्म कार्यतालिका ल्याउन नहुने अडानमा छन् ।