१४ बैशाख २०८१, शुक्रबार

‘असोज मसान्तसम्म एक करोड आठ लाखलाई खोप लगाइसक्छाैं ‘

umesh shrestha health

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विहिबार समय लिएर बोल्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो ।

पूर्ववर्ती सरकारले ९७ लाख खोपको व्यवस्थापन गरेको र नयाँ सरकार आएपछि बुधबारसम्म ७५ लाख खोप नागरिकलाई लगाइएको जानकारी पनि उहाँले दिनुभयो । १८ देखि ३० वर्षका विद्यार्थीलाई केही दिनमै खोप उपलब्ध गराउने तयारी सरकारले गरेको पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा आमुल परिवर्तनसहित सुधार गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरिब जनताको स्वास्थ्यमा पहुँच बढाउन पर्याप्त दरबन्दी विस्तारको खाँचो रहेको उहाँले बताउनुभयो । उमेर समूह र आर्थिक गतिविधि बढी हुने ठाउँमा खोपको उचित व्यवस्थापन गरिने उहाँले जानकारी गराउनुभयो ।

आउँदो दिनमा निजी क्षेत्रको साझेदारीबाट अघि बढ्ने कार्यक्रम सरकारले ल्याउने जानकारी दिनुहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले विगत १९ महिनादेखि देश कोभिडले आक्रान्त भएकाले त्यो प्रतिकुलतालाई अन्त्य गरी जनजीवन सामान्य बनाउन सरकार लागिपरेको बताउनुभयो । गत एक हप्ताको आँकडा हेर्दा संक्रमण दर बढेकाले थप सतर्कताको खाँचो रहेको उहाँले बताउनुभयो । अहिले २५ प्रतिशतको दरले संक्रमण दर बढिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

कोभिड १९ बाट ७ लाख बढी संक्रमित भइसकेको जानकारी दिनुहुँदै १० हजार १८० जनाले ज्यान गुमाइसकेको पनि मन्त्री श्रेष्ठले संसदलाई जानकारी गराउनुभयो । आगामी दिनमा प्राथमिकताअनुसार खोप उपलब्ध गराउने तयारी सरकारले गरेको पनि उहाँले बताउनुभयो । त्यस्तै, विद्यार्थीलाई पनि खोप लगाउने तयारी सरकारले गरेको उहाँले बताउनुभयो ।

देशभरी ९६ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण अहिले भइरहेको जानकारी दिनुहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण भइसकेको उहाँले बताउनुभयो ।

अहिलेसम्म १ करोड ८ लाख ६० हजार १७० खोप प्राप्त भइसकेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । माघ मसान्तसम्म ३ करोड २३ लाख थप खोप प्राप्त हुने जानकारी उहाँले संसद बैठकलाई दिनुभयो । पहिलो मात्राको खोप लगाउने जनसंख्या ४५ लाख ७० हजार ५५३ जना, दुवै मात्रा खोप लगाउने जनसंख्या २८ लाख ८८ हजार ३६० रहेको पनि उहाँले बताउनुभयो । अहिले मौज्दात १ लाख ७३ हजार खोप केन्द्रमा मौज्दात रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

नेपालमा खोप उत्पादनका लागि तयारी भइरहेको जानकारी दिनुहुँदै राज्यमन्त्री श्रेष्ठले आजसम्म २ हजारलाई क्वीआर कोडको प्रमाणपत्र उपलब्ध गराइएको उहाँले बताउनुभयो । कोभिड नियन्त्रण र उपचारका लागि सरकारले सम्पूर्ण ध्यान लगाएको पनि उहाँले जानकारी गराउनुभयो । खोप उपलब्ध गराउने सबै दातृ निकायलाई उहाँले सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

कोभिड तेस्रो लहर आउने खतरा कायमै रहेकाले सबैले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने उहाँले बताउनुभयो । महामारी नियन्त्रणका लागि सबैजना सचेत हुनुपर्ने बताउनुहुँदै राज्यमन्त्री श्रेष्ठले सरकारको प्रयासलेमात्र कोभिड नियन्त्रणमा आउन नसक्ने बताउनुभयो ।

सांसदहरुको जिज्ञासा

सांसद खगराज अधिकारीले स्वास्थ्य सेवा विभागजस्तो विभागमा कनिष्ठलाई जिम्मेवारी दिएर स्वास्थ्य सेवा कसरी प्रभावकारी हुन्छ जिज्ञासा गर्नुभयो । त्यस्तै, सांसद महेश बस्नेतले स्वास्थ्य मापदण्ड पूरा नगरी विद्यार्थीको परीक्षा किन लिइनेकाम भइरहेको छ किन त्यस्तो भयो ? जिज्ञासा गर्नुभयो ।

सांसद सूर्यप्रसाद पाठकले कोभिड खोप नेताको घरमा, होटलमा उपलब्ध भइरहेकोबारे प्रष्ट पार्न राज्यमन्त्रीसँग आग्रह गर्नुभयो । सांसद शेरबहादुर तामाङले पूर्ववर्ती सरकारले गरेको कामको तथ्याङ्क ल्याउनुभन्दा नयाँ सरकारले गरेको कामको तथ्याङ्क सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद विमला विकले जनतालाई अझ खोप उपलब्ध नभएकोभन्दै तत्काल व्यवस्था गर्न माग गर्नुभयो । त्यस्तै, श्रमिक वर्गलाई खोपको व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद डिला संग्रौलाले सरकारको पहिलो प्राथमिकता खोप हुने भनिएको थियो तर अहिलेसम्म त्यो व्यवस्था किन नभएको जिज्ञासा गर्नुभयो । सहजरुपले नागरिकले खोप कहिले पाउँछन् ? उहाँले जिज्ञासा गर्नुभयो ।

सांसद गगनकुमार थापाले सरकारले खोपका लागि गरिएको काम प्रसंशनीय भएपनि व्यवस्थापन चुस्त गराउन माग गर्नुभयो । खोप दिएर परीक्षा दिने भनिएको थियो, तर विद्यार्थीहरु विना खोप परीक्षा दिइरहेको भन्दै सांसद थापाले तत्काल व्यवस्था गर्न माग गर्नुभयो । सांसद रामकुमारी झाँक्रीले बृद्धबृद्धाले दोस्रो डोजको खोप प्राप्त गर्न नसकेको भन्दै सरकारले त्यसमा के तयारी गरेको छ ? जिज्ञासा गर्नुभयो ।

सांसद विन्दा पाण्डेले कोभिडले मनोवैज्ञानिक त्रास र हिंसा बढेको बताउनुहुँदै मनोविमर्सको तयारी सरकारले के गरेको छ ? जिज्ञासा गर्नुभयो । सांसद कृष्णकुमार राईले सरकारले प्रस्तुत गरेको खोपबारेको तथ्याङ्क कमजोर रहेको बताउनुभयो । काँग्रेसको कार्यकर्ताको ममः पसलमा समेत खोप उपलब्ध भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद निरुदेवी पालले तेस्रो लहरको महामारीको सामना गर्ने सरकारको तयारी बारे जानकारी दिन माग गर्नुभयो । कोभिड खोप पार्टी कार्यकर्तालाई लुकीलुकी लगाउने काम भइरहेको उहाँले बताउनुभयो । सांसद मिनबहादुर विश्वकर्माले अस्पतालमा स्तरीय सेवा हुँदाहुँदै पनि चुस्त व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

सांसद राजेन्द्रकुमार केसीले यो सरकार बनेको एक महिनामा ३३ लाख खोप उपलब्ध भएकोमा सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । सांसद महेश्वरजंग गहतराजले खोप भण्डारणमा नभई जनताको शरीरमा पुर्याउने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरु धर्मशिला चापागाई, प्रकाश रसाइली स्नेही, सरिता न्यौपाने, रामबहादुर विष्ट, पुष्पा भुषाल, नारायणप्रसाद मरासिनी, खेमप्रसाद लोहनी, गंगा चौधरी सत्गौंवा, सञ्जयकुमार गौतम, मिना सुब्बा, उमा रेग्मी, प्रेम सुवाल लगायतले राज्यमन्त्री श्रेष्ठलाई जिज्ञासा राख्नुभयो ।