१४ बैशाख २०८१, शुक्रबार

आलोपालो लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्ने सहमति

lumbini pradesh province
फाइल फोटो

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबिच सहमति भएको छ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिनुभयो । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै नेता केसीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनले तयारी गरेका छन् । जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा भने सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले बताउनुभयो ।

आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादी केन्द्रका संसदीय दलका नेता केसीले नेतृत्व गर्ने र त्यसपछि काँग्रेस दल नेता कानोडियाले नेतृत्व गर्ने सहमति भएको छ । केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काल प्रत्येक दलबाट एक–एक जना मन्त्री हुने र विश्वासको मत लिएपछि विस्तार गर्ने सहमति भएको नेता कानोडियाले बताउनुभयो ।