१५ चैत्र २०८०, बिहीबार

चितवनमा आज १७१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २४ सय नाघ्यो, तीनको निधन

Corona Dischargde
सांकेतिक तस्विर

चितवनमा आज १७१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमणबाट तीन जनाको निधन भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा १३० जना, खैरहनी नगरपालिकामा ८ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगर नगरपालिकामा ८ जना, राप्तीमा ८ जना, कालिकामा तीन जना, इच्छाकामनामा दुई जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा एक जना, पुरानो मेडिकल कलेजमा एक जना र खैरहनी नगरपालिकामा घरमा आइसोलेसनमा बसेका एक जनाको मृत्यु भएको हो । जसमा चितवन जिल्लाका दुई जना र नवलपुरका एक जना रहेका छन् ।

चितवनका विभिन्न अस्पतालमा अहिले २५२ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ४१ जना, एचडीयूमा ४७ जना र जेनरल बेडमा १०० जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट २६ जना कोरोना संक्रमणका बिरामी डिस्चार्ज भएका छन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ४०७ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २२२ जना, अस्पतालको आइसोलेसनमा १८० जना र सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् । आज चितवनका दुई जनासहित जिल्लामा अहिलेसम्म ३५६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।