१५ चैत्र २०८०, बिहीबार

महन्थ ठाकुर साधारण सदस्य मात्र

mahant thakurrr 750x375 1
फाइल फोटो

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा पार्टी अधिकारिकताको विवादमा उपेन्द्र यादव पक्षमा उभिएका ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले आयोगलाई पठाएको पत्रअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको जानकारी दिनुभयो ।

आयोगले ३५ सदस्यीय कार्यकारिणी समिति कायम गरेसँगै जसपामा उपेन्द्र यादव एक जना मात्र अध्यक्ष कायम हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । साथै महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ ।

अब जसपाका ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महोत्त, लक्षमणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरु साधारण सदस्य मात्रै हुनुभएको छ ।

साउन ११ गते जसपाको आधिकारिकता विवाद मिलाउनका लागि आयोगले हेट काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि बोलाएको थियो ।

सनाखतमा यादव पक्षमा ३४ जना र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए भने रेशम चौधरी तटस्थ बस्नु भएकाे थियाे।