१३ बैशाख २०८१, बिहीबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

cabinet
फाइल फोटो

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले कृषि मन्त्रालयको सचिवमा गोविन्दप्रसाद शर्मालाई नियुक्त गरेको छ ।

यस्तै सरकारले भूमि व्यवस्था मन्त्रालयमा कार्यरत टेकनारायण पाण्डेलाई गृह मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको छ । रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन ।

प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको हो ।

यस्तै सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
–हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद प्रशासनमा पठाउने ।

–सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ देखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने।

–विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली-२०७८ को छलफलका लागि मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिमा पठाउने ।

–माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको जग्गा प्राप्ति गर्ने कार्यका लागि सोही आयोजनाका सहायक प्रशासक कमल बहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी चयन ।

–नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वीतीय तहका उपसचिव सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई परराष्ट्र सेवाको प्रथम श्रेणीको पदमा बढुवा गरि परराष्ट्रमा पदस्थापना गर्ने ।

–सैनिक सेवा चौथो संशोधन नियमावली-२०७८ लाई छलफलका लागि विधेयक समितिमा पठाउने ।

–कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदका गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सचिव चयन ।