२८ बैशाख २०८१, शुक्रबार

चितवनमा भएको सैनिक हत्यामा ब्यारेककै हतियार प्रयोग, अभियुक्त ढकाल ‘बाख्रा’ चोरीमा पनि संलग्न

chitwan kanda

चितवनमा नेपाली सेनाका महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत हुद्दा भरत गुरुङको गत साउन ७ मा भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडामा हत्या भयो ।

खेतको नहरमा मृत फेला परेका उनलाई सैनिक जवान पार्वतीपुरका गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । तर, ती ढकाल सैन्य सेवामा प्रवेश गर्नुअघि नै उनको विगत राम्रो थिएन ।

उनी पश्चिम चितवनको विभिन्न ठाउँमा राति राति बाख्रा र खसी चोरी कार्यमा संलग्न रहेको भनेर सेनामा भर्ती हुनु अघि नै प्रहरीमा उजुरी परेको थियो । बाख्रा चोरीमा संलग्न भएको प्रमाणित भएपछि उनका बुबाले जरिवानासमेत तिरेका थिए । उनले बाख्रा चोरेर चितवनका विभिन्न तास घरलाई बेच्ने गर्दथे ।

पार्वतीपुर रंगिलाका एक स्थानीयले भने, ‘अपराधिक पृष्ठभूमिको मानिसलाई सैनिक सेवामा भर्ती गर्ने परिपाटी नै गल्ती हो । जिम्मेवार पेसा सेनामा भर्ती गर्नु अघि यस्ता व्यक्तिको पृष्ठभूमि अध्ययन गर्नुपर्दथ्यो ।’ पार्वतीपुर रंगिलाका स्थानीयले ढकालले जिउँदै बाख्रा र खसीको खुट्टा काटेर लैजाने गरी समाजमा अत्याचार र आतंक मच्याउँदै आइरहेको बताए ।

चितवन प्रहरीले घटनापछि गरेको पत्रकार सम्मेलन अनुसार हत्यामा नेपाली सेनासँग रहेको स्वचालित सट मेशिन गन (एसएमजी) प्रयोग गरिएको थियो । सैनिक जवान ढकालले सो हतियार दुई वर्षअघि सैनिक ब्यारेकबाट चोरेको अनुसन्धानबाट खुलेको छ ।

हत्या आरोपी सैनिक जवान चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुर रंगिलाका हुन् । मृतक गुरुङ चाहिँ धादिङको निलकण्ठ नगरपालिकाका स्थानीय हुन् ।

सेनाको आन्तरिक अनुसन्धान र प्रहरीको अनुसन्धानबाट पनि हत्यामा प्रयोग गरिएको एसएमजी चितवनको कालीबहादुर गणबाट चोरिएको हतियार पुष्टि भएको छ ।

चितवन प्रहरी प्रमुख ओम अधिकारीले सेनाले आफूहरुलाई जानकारी गराएपछि स्पष्ट हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हतियार चोरेको भन्ने सुनिएको छ, वृहत जानकारी छिट्टै सार्वजनिक हुनेछ ।’ उनले कर्तव्य ज्यानसम्बन्धी कसुरमा छानबिनको प्रक्रिया अगाडि बढिरहेको बताए ।

सैनिक स्रोतले नारायणी अनलाइनलाई बताए अनुसार कालिबहादुर गणबाट २ वर्षअघि हतियार चोरी भएको थियो । हतियार चोरेको आरोपमा दुईजना सैनिक जेलमा छन् । तर, पछिल्लो अनुसन्धानबाट गंगाधर ढकालले अंकुसेले तानेर हतियार चोरेको पुष्टि भएपछि सैनिक अदालतको आदेशले थुनामा गएका दुईजना सैनिक ‘निर्दोष त हैनन् ?’ भन्ने प्रश्न पनि उठेको छ ।

सबुज गणबाट ढकाल चितवनको कालीबहादुर गणमा सरुवा भएका थिए । त्यहाँ हतियार चोरेर उनले दुई वर्षसम्म लुकाउन सफल भए । कालीबहादुर गणबाट उनी महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा सरुवा भएका हुन् ।

प्रहरीले पक्राउ गर्दा ढकालको साथमा एसएमजी फेला परेपछि हतियारबारे नेपाली सेनाले पनि आन्तरिक अनुसन्धान गरिरहेको छ । ‘हामी पनि आन्तरिक अनुसन्धान गरिरहेका छौ’ सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले हतियार कसरी चितवन पुग्यो भनेर जवाफ खोजिरहेको जानकारी दिए ।