४ बैशाख २०८१, मंगलवार

अबको एक बर्ष भित्रमा नेपालीहरूले विद्युतीय बस चढ्न पाउने

battery electric bus

अबको एक बर्ष भित्रमा नेपालीहरू नेपालमा बनेको विद्युतीय बस चढ्न पाउने भएका छन् । सुन्दर यातायात प्रालिले रुपन्देहीको सैनामैनामा विद्युतीय गाडीको एसेम्बल प्लान्ट सञ्चालन गरेर बस उत्पादन गर्न लागेको जनाएको छ ।

विद्युतीय गाडी आफै बनाएर सञ्चालन गर्ने योजनाका साथ सुन्दर ट्रेडर्स प्रालिले सुरुमा ६ अर्बको लगानी गर्न लागेको छ । शुक्रवार प्रालिले गाडी उत्पादन गरिरहेको कम्पनी काशिस ई मोविलिटी प्रालि नयाँदिल्लीसँग विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सम्झौता गरेको छ ।

सम्झौतामा सुन्दर ट्रेडर्सको तर्फबाट अध्यक्ष भेषवहादुर थापा र काशिसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविकुमार पाँगाले हस्ताक्षर गर्नुभएको छ ।

सुन्दर ट्रेडर्स प्रालिका सञ्चालक डीआर घिमिरेले नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको वातावरणमैत्री विद्युतीय सवारी साधनहरू निकट भविष्यमै रुपन्देही लगायत लुम्बिनी प्रदेशका सहरमा देख्न र प्रयोग गर्न सकिने अवस्था आएको बताउनुभयो ।

चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन हुन लागेको हो ।

सम्झौता अनुसार दुई वर्षमा ५ सय साधनहरू चल्ने र एक वर्षभित्र नेपाली ब्रान्डका विद्युतीय बसहरू बजारमा गुडाइने छ । सम्झौताको ६० दिनभित्र २० वटा बस नेपाल आइपुग्नेछन् । पहिलो पटक ल्याइने बसहरू तयार भएका ल्याइने भए पनि बाँकी ८० वटा बसको चेसिस र थप ४ सय वटा सैनामैनामै एसेम्वल गरेर उपलब्ध गराइने छ ।

सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाले कोरोनाका कारण ढिला भए पनि अबको एक वर्षभित्र नेपालबाटै विद्युतीय बस उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।