३१ बैशाख २०८१, सोमबार

सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छ : प्रधानमन्त्री

deuba 2 1 scaled 822x548 1

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उनले दिएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताए । उनले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आह्वान गरे ।

उनले महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय खोप रहेको भन्दै विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको बताउँदै खोप लगाउँदा दूरी कायम गरी लाइनमा बस्नसमेत अनुरोध गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले मास्क र खोप अभियानलाई वडावडामा स्वयंसेवक राखेर सफल पार्नुपर्छ भन्दै कोभिड–१९ महामारीले स्वास्थ्य सेवासँगै आर्थिक क्रियाकलापमा पनि गम्भीर असर पुर्‍याएको हुँदा सङ्क्रमण नियन्त्रण गर्नका लागि खोप र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा आग्रह गरे ।

उनले सही ढङ्गबाट मास्क लगाउने र मास्क लगाउन उत्प्रेरित गर्नका लागि अभियान शुरु गरिएको जानकारी दिए । मास्कको सही प्रयोगले सङ्क्रमण हुन दिँदैन त्यसैले मास्कको सही प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । राज्यमन्त्री श्रेष्ठले सङ्क्रमणबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको भन्दै सबै नेपालीमा छिटोभन्दा छिटो खोप पुर्‍याउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

उनले निषेधाज्ञा खुकुलो भएसँगै मानिसको भीड बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढेर अस्पतालमा पनि बिरामी भर्ना हुने दर बढेको उल्लेख गरे । “आवश्यकताले काम बाहिर जाँदा र खोपका लागि खोप केन्द्रमा जाँदा सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्दछ”, उनले भने ।