१४ बैशाख २०८१, शुक्रबार

सडकमा राखिएका ठेला तथा घुम्ती ढयाब्ली बल प्रयोग गरेर हटाइयो

dang

तुलसीपुरको बस पार्क क्षेत्रमा अनाधिकृत रुपमा सडकपेटी मिचेर राखिएका घुम्ती (ढयाब्ली) ठेला, गाडा हटाइएको छ । कोसेली घर र त्यस आसपास क्षेत्रमा सडक मिचेर राखिएका ढयाब्ली र ठेला डोजर लगाएर हटाएको तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिएका छन ।

करिब दुई हप्ता अघि कोसेली घर नजिकै एकै आकारमा बनाइएका ५ वटा नयाँ ढ्याब्ली रातको १२ बजे ल्याएर राखिएपछि तुलसीपुर उपमहागनरपालिकाले हटाउन सूचना जारी गरेको थियो ।

पाँच वटा ढयाब्ली राख्नेहरु करोडपति भएको भन्दै वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले उनिहरुकै कारण दिनभरी फलफुल बेचेर साँझ बिहानको छाक टार्ने विपन्न वर्ग समस्यामा परेको बताएका छन ।

“नयाँ ढयाब्ली राख्ने करोडपति हुन् । गरिब होइनन् । त्यही भएर उनिहरुले मध्यरातमा पाँच वटा ढयाब्ली एकैपटक ल्याएर सार्वजनिक स्थानमा जबरजस्ती राखे,” वडा अध्यक्ष शाहले भन्नुभयो –“ हामीले हटाउन पटक पटक भन्यौ । मानेनन् । उनकै कारणले अन्य ठाउँमा बसेका विपन्न वर्गका मान्छेलाई समेत समस्यामा पारे । त्यस कारण उनिहरु गरिब होइनन् गरिब मारा हुन् ।”

३ दिने सूचना जारी गर्दै साउन १० गते सडटकपेटी मिचेर राखिएका ढयाब्ली, ठेला, गाडा हटाउन सूचना जारी गरेपनि अटेरी गरेपछि उपमहागनरपालिको प्रहरीको सहयोगमा मंगलबार डोजर लगाएर हटाएको हो । उपमहानगरपालिकाले डोजर लगाएर पाँच वटा ढब्याली हटाएको थियो भने अन्यले आफै हटाएका थिए ।

अटेरी गर्नेलाई हटायौ : कार्यबाहक मेयर डाँगी

यता तुलसीपुर उपमहानगरपालिका कार्यबाहक नगर प्रमुख श्याम डाँगीले स्थानीय सरकारको नीति र नियमलाई अटेरी गरेर जबरजस्ती सडकपेटी मेचेर राखिएकाले ढयाब्ली र ठेला हटाएको बताएका छन ।

सबै भन्दा व्यस्त मानिने बस पार्कको सो क्षेत्रमा अनाधिकृत रुपमा ढयाब्ली र ठेला राख्दा दुर्घटनाको जोखिम, बजार अव्यवस्थीत देखिनुका साथै आधुनिक बसपार्कमा समेत चुनौति थपिएकाले उपमहानगरपालिकाले जनप्रतिनिधि आएदेखिनै सडकपेटी मिचेर बनाइएका घर, टहरा, ढयाब्ली, ठेला हटाउँदै आएको बताएका छन ।

ठेला,गाडाका लागि ठाउँ तोएिको छ:

व्यवस्थित रुपमा व्यवसाय गर्नका लागि ठेलाहरुका लागि ठाउँ पनि छुट्याएको उपमहानगरपालिकाले जनाएको छ । पातुखोला पुलको उत्तर तर्फ करिब ७र८ कठ्ठा जमिनमा ठेला व्यवसायका लागि ठाउँ छुट्याएको कार्यबाहक नगर प्रमुख डाँगीले बताएका छन । यदि उपमहानगरपालिकाले तोकेको ठाउँमा व्यवसाय गर्नेगरी आएमा ती व्यवसायीलाई दर्ता गरिने डाँगीले बताएका छन ।