१४ बैशाख २०८१, शुक्रबार

संसदमा गृहमन्त्री खाँण र सांसदहरुबीच चल्यो यस्तो सवाल–जवाफ

balkrishna khad1

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानबिन समिति गठन गरेको बताउनु भएको छ ।

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो । आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “छानबिन समितिले घटनास्थलमै गएर छानबिन गर्नेछ ।

प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानबिन गर्नेछ । स्थानीय नागरिकसँग पनि बुझेर छानबिन समितिले सत्यतथ्यसहितको प्रतिवेदन ल्याउने छ । र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ । र जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुनेछ ।”

सरकारले सो घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । गृहमन्त्री खाँणले सो छानबिन समितिले सत्यतथ्यसहितको प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही पनि बोल्न नमिल्ने स्पष्ट पार्नु भयो ।

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन सरकारले छानबिन समितिलाई स्थानीय सरकार, प्रदेश सरकार र त्यहाँका जनप्रतिनिधिहरुसँग पनि छलफल गर्न निर्देशन दिएको जानकारी पनि सांसदहरुलाई गराउनुभयो ।

सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्षी दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गर्नु भएको थियो । उहाँले अपराधिक ढंगले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाउनु भयो ।

एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा बेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गर्नु भएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

कांग्रेस सांसद गगनकुमार थापाले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउनु भयो । उहाँले घटनामा संलग्न जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले हिम्मतका साथ काम गर्नुपर्ने पनि बताउनु भयो ।

यता, जवाफमा गृहमन्त्री खाँणले छानबिन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताउनु भयो । उहाँले छानबिन समिति घटनास्थल पुग्ने र त्यसको सत्यतथ्य बाहिर आउने विश्वास समेत व्यक्त गर्नु भयो । सरकारले सो घटनाको छानबिन गर्न गठित सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिएको छ ।