१२ बैशाख २०८१, बुधबार

भवानी अस्पताल वीरगञ्जमा तोडफोड, चिकित्सक र नर्समाथि आक्रमण

birgunj hospital todfod 750x375 1

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ ।

मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड पनि फालिदिएका छन् । प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र नर्सलाई चोट लागेको अस्पतालले जनाएको छ ।

तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएकी छन् । अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम पक्राउ परेका हुन् ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको निधन भइसकेको थियो ।

प्रहरी समयमै आएर स्थितिलाई नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको निर्देशक श्रेष्ठको भनाइ छ ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै प्रदर्शन गरेका थिए ।

दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेको दावी मृतकका आफन्त र गाउँलेको दावी छ ।