७ आश्विन २०७८, बिहीबार

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ओलीले दिए ‘प्रतिगामी’ को संज्ञा: दमन शुरु भइसक्यो, दादागिरी देखाउन थालिसक्यो

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन शुरु भएको बताए।

ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिएका छन् । उनले सरकारले दादागिरी देखाउन थालेको पनि आरोप लगाए ।

आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताए । ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो’, अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’

उनले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको बताए । ‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आएको हो’, ओलीको भनाइ छ ।

त्यसक्रममा उनले केही स्वार्थी लोभिपापीहरुका कारण नेकपा फुटाइएको पनि बताए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो देशमा विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताए ।

अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाए । उनले त्यस्ताहरुले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने दावी पनि गरे ।

‘कम्युनिस्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृत्तिहरू छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । विचारबाट पार्टी चलाउनुपर्छ’, उनले माधव नेपाल समूहप्रति लक्षित गर्दै भने, ‘आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम कामहरु भएका छन् ।’

‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो’ उनले भने ।

२०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय मान्छे जम्मा गरेर कार्यक्रम गरेको ओलीले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

यो भद्दा राजनीतिकरण र अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्र भएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले यस्ता कदम सच्याउन सरकारलाई खबरदारी समेत गरेका छन् । उनले अघि भने, ‘प्रतिवाद पनि गर्छौं र आवश्यक पर्‍यो भने प्रतिरोध पनि गर्छौं ।

ओलीले तुलसीलालका खास अनुयायी आफूहरु भएको दावी पनि गरे ।

‘आन्दोलन र अथक संघर्षको पर्याय हुन् तुलसीलालहरु । उहाँहरुले सिर्जना गरेको आन्दोलनका उत्तराधिकारी हामी यो आन्दोलनलाई कमजोर बनाउन दिँदैनौ’, ओलीले भने, ‘तर आन्दोलनलाई कमजोर बनाउन खोज्ने, अग्रगमन र परिवर्तनका विरुद्ध लागिरहेका हुन्छन् ।’

उनले ऋषिमुनिका कालखण्डमा यज्ञ र ध्यान पनि भत्काउने तथा बिगार्ने षड्यन्त्र हुने गरेको भन्दै अहिले पनि एमालेमाथि त्यस्तै षड्यन्त्र भइरहेको बताए । उनले विगतमा पनि नेपाली राजनीतिमा सालिक भत्काउनेदेखि पुस्तक डढाउने काम भएको उल्लेख गर्दै ती सवै उन्मादबाट भएको बताए ।

ओलीले पुष्पलालले स्थापना गरेको र मनमोहन मदन भण्डारीले अघि बढाएको पार्टी एमालेले कम्युनिस्टहरूले विकास गर्न सक्छन् भन्ने पुष्टि गरेको पनि बताए ।