१६ चैत्र २०८०, शुक्रबार

जनताको जीवन रक्षा प्रमुख दायित्व

6104bcfddc14f Untitled 1

गृहमन्त्री बालकृष्ण खाँणले जनताको जन्मदेखि मृत्युसम्मका विविध कार्यमा सरकारको पहुँच र उपस्थिति पु-याउन विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालय मातहतका विभागीय प्रमुखहरूलाई शुक्रबार निर्देशन दिनुहँुदै गृहमन्त्री खाँणले जनताको माझ उपस्थित देखाउने काम गृह मन्त्रालयको रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारको उपस्थिति बढाउन विभागीय प्रमुखको जिम्मेवारी र दायित्व अझै बढी रहेको छ, त्यो सक्रियता र सहभागिताले नै सरकारको उपस्थिति देखिन्छ ।” साथै जिम्मेवारीमा फरक वा परिवर्तन हुन सक्ने भए पनि जनताको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएकाले जो जहाँ रहेर दायित्व निर्वाह गर्नुपरे पनि त्यसमा कुनै कमी कमजोरी नगर्न मन्त्री खाँणले निर्देशन दिनुभयो ।

गृह प्रशासन जनताको सुरक्षाका लागि काम गरिरहेको अनुभूति गर्ने वातावरण निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । कोभिड–१९ महामारीका कारण विभिन्न कारागारमा रहेकाहरूको आफन्त भेटघाट गर्ने अवस्था नरहेको अवस्थामा कोभिडको पीसीआर परीक्षण गरेर भेटघाटको वातावरण बनाउन उहाँले विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

सो क्रममा विभागीय प्रमुखहरूले आफ्ना विभागको हालसम्मको कार्यप्रगति तथा कार्ययोजना प्रस्तुत गर्दै सोबारेमा गृहमन्त्री खाँणसमक्ष ब्रिफिङ गर्नुभएको थियो । साथै उहाँहरूले आफ्ना विभागका आइपरेका समस्या तथा चुनौतीका बारेमा गृहमन्त्रीलाई अवगत गराउनुभएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिनुभयो ।