४ आश्विन २०७८, सोमबार

डीडीसीका उत्पादन विमान सेवामा बेच्ने तयारी

ddc

दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

हाल नेपाल वायु सेवा निगमद्वारा सञ्चालित जहाजहरूमा विदेशी उत्पादित दुग्धजन्य पदार्थ अन्य खानेकुरा बिक्री वितरण भइरहेको छ ।

डीडीसीले आफ्नो दुग्धजन्य पदार्थ खरिद गर्न आग्रह गरेपछि निगमले खरिद गर्ने प्रतिबद्धता जनाएको छ । त्यसको प्याकेजिङका लागि डीडीसीले मेसिन खरिद गर्ने सूचना प्रकाशित गरेको छ । मेसिन खरिद भइसकेपछि निगमसँग सम्झौता गरी उत्पादन बेच्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सम्झौता भएको छैन । हामीले मेसिन ल्याएर उत्पादन सुरु गरेपछि दुई पक्षबीच सम्झौता हुन्छ । त्यसपछि मागबमोजिम हामीले दुग्धजन्य पदार्थ दिनेछौँ । ”

निगमलाई दिन आठदेखि १० ग्रामको बटरको प्याक र ५० एमएल दहीको बट्टा बनाउने तयारी डीडीसीको रहेको छ । ती जहाजमा वार्षिक छ लाखदेखि आठ लाखसम्म खपत हुने बताइएको छ । वार्षिक एकदेखि डेढ अर्बको कारोबार हुने अनुमान आफूहरूले गरेको उहाँले बताउनुभयो ।

मेसिन खरिद गरेर आएपछि दुईदेखि तीन महिनाभित्रमा डीडीसीबाट उत्पादित दुग्धजन्य पदार्थ बिक्री हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “डीडीसीको मुख्य उद्देश्य स्वदेशी उत्पादनलाई विदेशसम्म पु-याउने, आफ्नो देशको जहाजमा आफ्नै देशबाट उत्पादित वस्तु बिक्री वितरण होस् भन्ने हामीले चाहेका हौँ । ”

निगमले डीडीसीबाट उत्पादित वस्तु खरिद गर्न थाले मौज्दात रहेको दुग्ध पदार्थको खपत बढ्ने विश्वास आफूहरूले लिए महाप्रबन्धक पौडेलले बताउनुभयो । मौज्दात रहेको दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई रकम तिर्न समस्या भइरहेको डीडीसीले जनाएको छ । किसानको बक्यौता रकम भुक्तानीका लागि सरकारले २० करोड रुपियाँ सहुलियत ऋणमा दिएको छ ।

किसानलाई अझै ४५ करोड रुपियाँ तिर्न बाँकी रहेको छ । डीडीसीले आफ्नो दुग्धजन्य पदार्थको खपत बढाउन आमउपभोक्ताका लागि धुलो दूध बजारमा ल्याउनुका साथै कुखुराका लागि दानामा तथा खोपमा प्रयोग हुने धुलो दूध पनि बिक्री वितरण गर्न थालेको छ । घिउ जापान निर्यात गर्नुका साथै नेपाली सेनालाई पनि दूध बेच्न थालेको छ ।

दुग्ध क्षेत्रमा ३० प्रतिशत बजार ओगटेको डीडीसीको बिक्री वितरण निजी क्षेत्रभन्दा राम्रो देखिन्छ तैपनि वार्षिक रूपमा घाटा देखाइरहेको छ । हाल डीडीसी १० करोडको घाटामा रहेको छ ।