११ बैशाख २०८१, मंगलवार

जसपाको केन्द्रिय समिति ८०१ सदस्यीय रहने कार्यकारिणी समितिमा ३५ जना कायम

jasapa miting 69

जनता समाजवादी पार्टी (जसपा)नेपालको कार्यकारिणी समितिको बैठकले सरकारमा पठाइने नेताहरुको नाम छनौटगर्ने जिम्मेवारी शीर्ष तीन नेतालाई दिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीका लागि नाम चयन गर्ने बताइएको छ । कार्यकारिणी समितिको बुधवार बसेको बैठकमा सरकारमा पार्टीको तर्फबाट अध्यक्ष यादवले सरकारमा नेतृत्व गर्नुपर्ने सहभागि सदस्यहरुले माग गरे ।

गठबन्धनको सरकारबाट पार्टीको कयौं मागहरु सम्बोधन गराउनु पर्ने भएकाले सरकारमा अध्यक्ष यादवले नै नेतृत्व गर्नुपर्छ भने आवाज उठेको एकजना कार्यकारिणी सदस्यले जनाए । अध्यक्ष यादवको अध्यक्षतामा भएको बैठकमा सरकारमा पठाउन पार्टीमा निरन्तर लागेका, संकटमा सघाएकाहरुलाई प्राथमिकतामा राख्नु पर्ने सहभागिहरुले धारणा व्यक्त गरे ।दिनभरि नै बैठक सरकारमा सहभागिताको विषयमा केन्द्रित रहेको बताइएको छ । बैठकमा धारणा राख्ने नेताहरुले मन्त्री छान्दा समावेशी सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताए ।

उनीहरुले पूर्वपार्टीको लिगेसी पनि हेरेर राम्रो काम गर्न सक्ने नेता छनोट गर्नुपर्ने सुझाव दिए । कार्यकारिणी समितिका केही नेताले अध्यक्ष यादवकै नेतृत्वमा जानुपर्ने धारणा राखे भने केहीले यसअघि मन्त्री नभएकाहरुलाई पठाउनुपर्ने धारणा राखेका एक जना सदस्यले बताए । अध्यक्ष यादवले भने सरकारमा आफू नजाने बताइसकेका छन् ।उनले संगठन सुदृढीकरणमा लाग्ने बताउँदै सरकारमा जानबाट पञ्छिन चाहेका छन् ।तर कार्यकारिणी समितिमा सदस्यहरुले चुनाव गराउने सरकार समेत भएकाले उनलाई सरकारमा पार्टीको नेतृत् वगर्न दवाव दिन थालेका छन् ।

बैठकले जसपासँग एकीकरण भएको नेपाल लोकतान्त्रिक पार्टीको शिवलाल समूहका अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप गरेको छ ।जेलबाट नै कार्यकारिणी समितिको बैठकमा फोनगरि रेशम चौधरीले आधिकारिक जसपामा नै रहने बताएपनि उनलाई समेत सदस्यमा कायम गरिएको पार्टीका प्रवक्ता डम्बर खतिवाडाले जनाएका छन् ।

अध्यक्ष यादवले निर्वाचन आयोगमा आधिकारिकताको माग गरेको फैसलाका लागि निर्वाचन आयोगले पक्ष र विपक्षमा सनाखत गराउँदा महन्थ ठाकुरको पक्षमा सनाखत गर्ने सबै १६ जनालाई कार्वाहीगरि निष्कासन गर्ने सहमति बैठकमा भएकोछ । बैठकमा लगातार अनुपस्थित रहेको, पार्टी हित विपरित कार्य गरेकाले उनीहरुलाई स्पष्टिकरण सोधेर सफाइको मौका दिने तयारी भएको छ ।

कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले १६ जनालाई नै लोकतान्त्रिक प्रकृया र पार्टीको विधान अनुसार स्पष्टिकरण सोधेर सफाइको प्रयाप्त मौका दिने बताए ।तर अब पार्टी पूर्ण अनुशासित भएर बढने भएकाले पार्टी हित विपरित आचरण गर्नेलाई छुट नदिने उनले बताए । बैठकका एकजना सहभागिका अनुसार हाल कार्यकारिणी समितिमा ३६ जना भएका छन् ।१७ जनालाई पछि थप गरिने बताइएको छ ।निर्वाचन आयोगमा कार्यकारिणी समितिको संख्या ५३ रहेको जनाइएपनि ५१ जना मात्र रहेका थिए ।

ठाकुर पक्षले आफूहरु समेत कार्यकारिणी समितिमा रहेको दावीगरेपनि उनीहरुलाई कार्यकारिणी समितिबाट हटाइसकिएको छ ।तर उनीहरुलाई पार्टीको सधारण सदस्यबाट हटाइएको छैन् । त्यस्तै केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यावधिक गर्न मृगेन्द्र सिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहने गरी ५ सदस्यीय कार्यदल बनाएको छ । कार्यदललाई साउन १७ गतेभित्र काम सक्नुपर्ने जिम्मेवारी दिइएको छ ।

स्रोतका अनुसार ८ सय १ सदस्यीय केन्द्रिय समितिका लागि ४ सय सदस्यको नागरिकता यादव पक्षले संकलन गरिसकेपनि ठाकुर पक्षबाट प्राप्त भइसकेको छैन् ।उनीहरुले नागरिकता नपठाएपनि अध्यावधिक गर्न बनेको समितिले सम्पर्कगरि नागरिकता माग्ने लगायतका काम गर्ने बताइएको छ । कार्यकारिणी समितिको बैठक विहिवार ११ बजे पुन :बस्नेछ ।

जसपा भएदेखि गर्न बाँकी रहेका कामहरुलाई बैठकबाट निर्णयगरि अगाडी बढाइने कार्यकारिणी समितिका सदस्य विजय कुमार यादवले जनाए ।‘पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँडपनि गरिनेछ’ उनले भने, पार्टीमा अब सबैले जिम्मेवारी पाउने छन् ।