१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति बैठक: कक्षा १२ को परीक्षा सम्बन्धित विद्यालयबाटै लिने व्यवस्था मिलाइँदै

national examination board

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा विद्यार्थीले पठनपाठन गरेको विद्यालयबाटै दिने व्यवस्था मिलाउने भएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर यस पटकको परीक्षा होम सेन्टरबाटै लिने तय गरिएको जानकारी दिनुभयो ।

बोर्डले कक्षा १० को नतिजा आन्तरिक मूल्याङ्कनबाटै प्रकाशनको तयारी गरेको भए पनि कक्षा १२ को मूल्याङ्कन भौतिक उपस्थितिमै गर्न सुझाव आएकाले होम सेन्टरबाटै परीक्षा लिन लागिएको जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले होम सेन्टरबाट लिइने परीक्षा सुरक्षाको मापदण्ड पालना गराउने गरी मर्यादित बनाउन र उच्च शिक्षाका लागि अप्ठ्यारो नपर्ने गरी व्यवस्था मिलाउन बोर्डले बिचार पुर्‍याउनुपर्ने बताउनुभएको थियो ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिसिएमसीसीको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएरै परीक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

समितिले स्वास्थ्य मापदण्ड अपनाउँदै सकेसम्म कम सङ्ख्या रहने गरी परीक्षा सञ्चालन गर्न, परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीको व्यवस्था, सङ्क्रमितलाई पनि परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।