८ बैशाख २०८१, शनिबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छ महिना पर स-यो

Pokhara Regional International Airport

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि छ महिनापछि सरेको हो ।

करिब २२ अर्ब रुपियाँको लागतमा २०७८ असार २६ भित्र सम्पन्न गर्नेगरी २०७४ असारदेखि निर्माण सुरु गरेको चाइना सीएएमसी इन्जिनियरिङले कोरोनाका कारण सामग्री आयातमा समस्या भएकाले समयमा निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । विमानस्थलको निर्माणको काममा निर्माण कम्पनीले तीव्रता दिएकै कारण छ महिनाअगावै सम्पन्न गर्ने लक्ष्य लिइएकोमा कोभिड–१९ का कारण समय अवधिभन्दा छ महिना पछि धकेलिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो ।

गत वर्षको छ महिने बन्दाबन्दी र यस वर्षको तीन महिने बन्दाबन्दीका बीचमा पनि विमानस्थलमा नियमित काम भइरहेकाले अबको छ महिनाभित्र निर्माण सम्पन्न गरी २०७८ सालभित्रै परीक्षण उडान गर्ने तयारी भइरहेको मुनकर्मीले बताउनुभयो । तीन सयभन्दा बढी कामदारले निरन्तर काम गरिरहेको विमानस्थलका लागि आवश्यक उपकरण तथा सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माण सम्पन्न गर्ने समय थपिएको हो ।

सम्झौताअनुसार असार २६ गते निर्माण सम्पन्न हुनुपर्नेमा यस अवधिमा ८१ प्रतिशत भौतिक र ६८ प्रतिशत आर्थिक प्रगति भएको छ । भौतिक रूपमा बाँकी १९ प्रतिशतमध्ये ९ प्रतिशत सिभिल निर्माणको काम र १० प्रतिशत उपकरण जडानका काम रहेका छन् । विमानस्थलमा प्रयोग हुने उपकरण केही आइसकेको र केही आउन बाँकी छन् । उपकरणसँगै जडानका लागि विभिन्न मुलुकबाट जनशक्तिसमेत आउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान नहुँदा जनशक्ति आउन नसकेको आयोजनाले जनाएको छ ।

विमानस्थलमा प्रयोग हुने उपकरण चीन, अमेरिका, नर्वे, अस्ट्रेलियालगायतका मुलुकबाट आउँछन् । अहिले विमानस्थलको सजावट, टायल लगाउने, रङ लगाउने, इनोभेटर, स्काभेटरको काम भइरहेको छ । “अहिले पनि ३२० जना चिनियाँ तथा नेपाली कामदारले मौज्दातमा रहेका निर्माण सामग्रीसहित नियमित काम गरिरहेका छन् । हामीलाई अहिले मुख्य समस्या परेको सामग्री तथा जनशक्ति आयातले पारेको छ । अब अन्तर्राष्ट्रिय उडान नियमित हुँदा साथ सहज हुन्छ,” मुनकर्मीले बताउनुभयो ।

२२ अर्ब रुपियाँ चिनियाँ ऋण सहयोगमा निर्माण हुन लागेको विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे, अन्तर्राष्ट्रिय उडान र आन्तरिक उडानका लागि टर्मिनल भवन, रनवे, ट्याक्सीवे, एप्रोन, इमिग्रेसन क्यानल, माटो काट्ने, फिलिङ गर्ने, दायाँबायाँ मैदान बनाउने, विभिन्न भवन निर्माण भइसकेका छन् ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सोसरहका विमानले उडान गर्नसक्ने छन् । निर्माण खटिएका कामदार विमानस्थलमै सुरक्षित राखेर निरन्तर काममा खटिइरहेका छन् । विभिन्न देशमा रोकिएका निर्माण सामग्री र जनशक्ति सहज रूपमा आउने अवस्थाका लागि प्रयास भइरहेको मुनकर्मीले बताउनुभयो ।

अहिले विमानस्थलका लागि आवश्यक विभिन्न सामग्री केही बन्दरगाहमा आएर रोकिएका छन् । जनशक्ति विभिन्न मुलुकमा छन्, विमानस्थल सञ्चालन हुनासाथ निर्माणको कामलाई अन्तिम चरणमा पु-याउँछौँ,मुनकर्मीले भन्नुभयो ।