१५ चैत्र २०८०, बिहीबार

कस्तो अवस्थामा चलिरहेको छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ?

pokhara airport

गण्डकी प्रदेशको पोखरा सहरको छिन्नेडाँडामा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले चर्चामा छ ।

विमानस्लको बाहिरी बनोट विदेशी विमानस्थलको झल्को दिइरहेको छ भने विमानस्थलबाट देखिने माछापुच्छ्रे हिमालको मनोरम दृश्यले विमानस्थलको शोभा बढाएको छ । मौसमले गर्दा उडानमा ढिलाइ हुँदा भद्रगोल जस्तो देखिएपनि समग्रमा विमानस्थल आउनेरजानेको भीडले चलायमान बनिरहेको छ ।

करिब ३७ सय रोपनी क्षेत्रफलमा रहेको विमानस्थल सन् २०२१ जुलाई ११ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोना महामारीले गर्दा गत साता मात्रै उदघाटन गरियो ।

चाइनिज सिएएमसीइ कम्पनीले २२ अर्ब रुपैयाँ लागतमा बनाएको विमानस्थलबाट १० लाख यात्रुलाई प्रति वर्ष सेवा दिने अपेक्षा गरिएको छ । विमानस्थलमा पछिल्लो समय बढ्दो चापले त्यसलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । पुरानो विमानस्थलमा जस्तै नयाँ विमानस्थलमा पनि यात्रुको चाप देख्न सकिन्छ । नयाँ विमानस्थलमा अवतरण र उडान गर्न पाउँदा यात्रु पनि खुशी छन् ।

आन्तरिक उडान तर्फको यात्रु प्रतीक्षालय र टिकट काउण्टरमा समेत यात्रुको चाप छ । जसलाई व्यवस्थापन गर्न विमानस्थललाई समस्या भने भइरहेको छ ।

वाइड बडी विमानहरू ह्यान्डल गर्न सक्षम, नयाँ विमानस्थलले आपत्कालिन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा काम गर्ने भनिएको छ । दक्षिण र पूर्वी एसियाली देशहरूमा सीधा सम्पर्कलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

तत्काल अन्तर्राष्ट्रिय उडान सुरु नभएपनि सरकारको योजना सफल हुने देखिन्छ । तर, नयाँ विमानस्थलमा यात्रा गर्ने यात्रुमा जति उत्साह छ, व्यवस्थापनलाई चुस्त बनाउन नागरिक उड्डयन प्राधिकरणले ध्यान दिनुपर्ने देखिन्छ ।