२४ श्रावण २०७९, मंगलवार

घटे वैदेशिक रोजगारीमा जाने

tia airport
फाइल फोटो

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै घटेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा तीन लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ३०५ जना मात्रै गएका छन् । यो सङ्ख्या दुुई लाख दुुई हजार १०८ ले कमी हो ।

कोरोनाका कारण सबैभन्दा बढी नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ ।

कोरोनाका कारण कतार, साउदी आरब र यूएई जाने नेपाली श्रमिकको सङ्ख्या शतप्रतिशतभन्दा बढीले कमी आएको छ । आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पाँच लाख सात हजार ८१७ रहेको विभागले जनाएको छ ।

विश्वव्यापी कोराना सङ्कटका कारण रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्यामा ठूलो कमी आउँदा पनि विप्रेषण भने बढेको नेपाल राष्ट्र बैङ्कले हालै सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने समग्र युवाको सङ्ख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपालीको सङ्ख्या एक वर्षमा दुुई लाख ५७ हजारभन्दा कमी भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण श्रम गन्तव्यमा जाने नेपाली श्रमिकको सङ्ख्या ह्वात्तै घटेको बताउनुुभयो ।

प्रमुख स्रोत गन्तव्य खाडी राष्ट्रमा कोरोना सङ्कटका बीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या घट्दै गए पनि यसका लागि सरकारले वैकल्पिक रोजगारीको व्यवस्था गर्न सकेको छैन ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गरुङले कोरोना सङ्क्रमणका कारण नेपालीको श्रम गन्तव्य मुुलुकमा श्रमिकको माग कम आइरहेका बेला विदेश जाने श्रमिकको सङ्ख्या घट्नुु स्वाभाविक भएको बताउनुुभयो ।

पछिल्लो पटक मलेसिया र खाडी मुुलुकमा नेपाली श्रमिकको माग कम हुन थालेकाले यसको विकल्प खोजिनुुपर्ने उहाँको भनाइ छ ।