१६ चैत्र २०८०, शुक्रबार

गगन थापाकाे प्रश्न- ‘नेपालमा कोरोना भाइरस इरानमा जस्तो भयो भने के गर्ने ?’

gagan thapa

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कोरोना भाइरस इरानमा जस्तै गरी नेपालमा पनि फैलिए के गर्ने भन्दै संसदमा प्रश्न उठाएका छन् ।

गगन थापाले संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन्। उनले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ ? भन्ने प्रश्न गर्दै यो प्रस्ताव पेश गरेका हुन्। थापाले अस्पतालको अवस्थामाथिसमेत प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको आज बसेको बैठकमा विभिन्न देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको अवस्थामा नेपाल संक्रमणदेखि बाहिर रहनु सुखद् भए पनि इरानको जस्तो अवस्था बेहोर्नु परे के होला भन्दै प्रश्न उठाए ।

थापाले पेश गरेको जरुरी सार्वजनिक पस्तावको समर्थनमा सञ्चयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा. नारायण खड्काले समर्थन गरेका छन्। संसदमा बोल्दै अधिकांश सांसदले संक्रमण रोक्न तयारी नहुँदा जनताको असन्तुष्टि बढेको बताएका छन्।

कोरोना संक्रमण बढ्दै जाँदा मास्को अभाव, कालोबजारीप्रति सरकारको ध्यानाकर्षण सांसदले गराएका छन्। कोरोनाप्रति सचेत हुन सरकारले नसकेको भन्दै सांसदले आपत्ति जनाएका छन्।

चीन र दक्षिण कोरियाजस्ता विश्वकै शक्ति देशलेसमेत नियन्त्रण गर्न नसकेको अवस्थामा नेपाल समयमै सचेत हुनुपर्ने सांसदको भनाइ छ। कोरोना रोक्न सरकार र सम्बन्धित निकाय सक्रिय हुनुपर्ने सांसदको माग छ।

अन्य देशमा सांसद, मन्त्रीहरुसम्मलाई संक्रमण भएको स्मरण गराउँदै थापाले भने, ‘अहिले हामी कामना गरेर बस्ने कि यो समयको सदुपयोग गर्ने ?’

विश्व स्वास्थ्य संगठनले समेत जोखिमको देशहरुको सुचीमा नेपाललाइ पनि राखिएको कुरा स्मरण गराउँदै उनले भने, ‘नेपाललाई देशको भुअवस्थितिको कारण मात्र जोखिममा राखिएको होइन । हाम्रो आफ्नो क्षमताको कारण सीमामा चेकजाँच गर्ने हाम्रो क्षमता, सिंगो स्वास्थ्य प्रणालीको क्षमता, यी सबै कुराका कारण पनि नेपाल उच्च जोखिममा रहेको हो ।’

उनले कोरोनाभाइरसलाई नेपाल आउनै नदिन र फैलन नदिनको लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । यो एउटा स्वास्थ्य मन्त्रालयको कुरा मात्र नभएको भन्दै उनले सरकारको मात्र नभई सबैले यस अवस्थामा जिम्मेवारपूर्ण ढंगले सोच्नुपर्ने बताए ।

फेब्रुअरी २० देखी २७ सम्ममा मात्र इटाली, जापान, कोरिया र चीनसम्मको गरी १३७८ जना नागरिक नेपाल प्रवेश गरेको र तिनीहरु कहाँ छन् भन्ने ट्याकिङ नभएको उनको भनाइ थियो । बाहिरबाट नेपाल आउने को नेपाली नागरिक वा गैरनेपाली नागरिक हुन्, कुन देशलाई पूर्ण रुपमा रोक्ने, कुन देशबाट प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने, कुन देशबाट आउने मान्छेलाई निरन्तर ट्याकिङ गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने समेत उहाँले बताए ।