४ आश्विन २०७८, सोमबार

निषेधाज्ञा खुकुलोभएसँगै आशावादी बने पर्यटन व्यवसायी

sauraha
फाइल फोटो

कोरोना संक्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ । कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन् ।

गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ । बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका छन् । होटल, रेस्टुराँलगायतका व्यवसायीले बैंक लगायतको ऋण तिर्न सकेका छैनन् भने मजदूरको अवस्था थप जटिल बनेको छ ।

कोरोनाको दोस्रो लहर घटेसँगै क्रमशः होटल आंशिकरुपमा खुल्न थालेका छन् । जङ्गल सफारीलगायतका केही गतिविधि सुरु भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले आन्तरिक पर्यटक आउन थालेको बताए । दैनिक १०० हाराहारी पर्यटक सौराहा क्षेत्रका होटलमा आएको उनको भनाइ छ । कतिपय घुमेर फर्कने गरेका छन् । पर्यटन मजदूरलाई कोरोनाविरुद्धको खोप लगाउनसकेमा पर्यटकको संख्या बढ्ने र मजदूर सुरक्षित हुने व्यवसायीको भनाइ छ ।

भट्टराईले भने, ‘अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए ।’ वर्षात्को समय पर्यटनका लागि राम्रो समय मानिँदैन । यो पर्यटनका हिसाबले अफ सिजन हो । दशैँअघिबाट पुनः पर्यटक आउन थाल्दछन् । वर्षात्को समयमा सौराहामा बाढी आउने भएकाले समस्या हुने गर्दछ । निकुञ्जभित्रका गतिविधि वर्षात्को समयमा सधैँ बन्द गर्ने गरिन्छ ।

सामुदायिक वनमा हात्ती सफारीलगायतका गतिविधि खुला हुने गर्दछन् । रेस्टुराँ एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार पारिवारिकरुपमा घुम्न आउनेक्रम सुरु भएको छ । सौराहामा १ सय २० होटल र ५६ रेस्टुराँ दर्ता भएर सञ्चालनमा छन् । उनले भने, ‘कोरोना घटेसँगै केही उत्साह थपिएको छ ।’ आउँदो सिजनबाट व्यवसाय पूर्ववत् अवस्थामा फर्कने आशामा आफूहरु रहेको खतिवडा बताउँछन् ।

हाल होटल, रेस्टुराँ आंशिकरुपमा खुलेका हुन् । होटलमा ३३ प्रतिशत पाहुना राख्न पाइन्छ भने रेस्टुराँ साँझ ७ः०० बजेपछि सञ्चालन गर्न पाइँदैन । सौराहाको जङ्गल सफारी लजका कार्यकारी निर्देशकसमेत रहेका क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे होटलका बारेमा बुझ्नेको टेलिफोन निकै आएको बताउँछन् । उनले भने, ‘यस वर्ष मेरोमा ३०० भन्दाबढी कोठा अग्रीम बुकिङ भइसकेका छन् ।’ कोरोना नबढे यस वर्ष धेरै राम्रो हुने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत सौराहा आउने गर्दछन् । सौराहा आएकामध्ये ७० प्रतिशतले पर्यटकीय गतिविधिमा सहभागिता जनाउने गरेको घिमिरे बताउँछन् । घरमा लामो समय बस्दा पट्यार लागेर घुम्न जान खोज्ने धेरै भए पनि अब कोरोना के हुन्छ भन्ने अन्योल कायमै रहेको उनले बताए । घिमिरेले थपे, ‘कोरोना नियन्त्रणमा आयो भने पर्यटन क्षेत्र धेरै राम्रो हुन्छ ।’

पश्चिम चितवनको पटिहानीमा रहेको जङ्गलभित्रका सञ्चालक गणेश पौडेल पर्यटक आउनेक्रम सुरु भएको बताउँछन् । उनले भने, ‘तालिमलगायतका कार्यक्रमका लागि फोन आइरहेका छन् ।’ कोरोना बढेन भने व्यवसाय पूर्ववत् अवस्थामा फर्कने उनको भनाइ छ । पटिहानी क्षेत्रमा १७ साना ठूला होटल छन् ।

साराङ वाइल्ड लाइफ मेघौली र सेन्ट्रल पाम नारायणगढका सञ्चालक सुबोध प्रधान बिस्तारै पर्यटक आउन थालेको बताउँछन् । क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीको भएको प्रधानले बताए । सौराहाका होटलमा मात्र पाँच हजार ५ सय मजदूर कार्यरत छन् । तीसँगै हात्तीका १ सय ५०, डुङ्गाका २ सय, जीपका १ सय र नेचर गाइड ३ सय हाराहारी कोरोनाकै कारण पर्यटन व्यवसाय बन्द हुँदा प्रभावित भएका छन् ।

नेचर गाइड एशोसियसन सौराहाका सदस्य नारायण रिजाल गत वर्षको चैतयताबीचमा एक महिना सामान्य काम भए पनि अरु समय पर्यटकको पर्खाईमा बितेको गुनासो गर्छन् । कोरोना संक्रमणका कारण आफू जस्ता ३ सय हाराहारी बेरोजगार हुनुपरेको उनको गुनासो छ । बाहिरबाट यहाँ बसोबास गर्ने गाइड संकमा परेको रिजालले बताए । कोरोना बढेन भने पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कला भन्ने आशामा आफूहरु रहेको उनको भनाइ छ ।

नेपाल र भारतमा कोरोनाविरुद्धको खोप नलगाएसम्म विदेशी पर्यटक नआउने भन्दै उनले छिटो खोप पाए सहज हुने बताए। सन् २००८ बाट यो पेशा थालेका रिजाल विगतमा अहिलेसम्म यो अवस्था आएको थिएन ।

गत वर्ष कोरोना सक्रमणपछि यसको प्रभावका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गर्ने टोलीमध्येका अगुवा पर्यटनविद् डा.विश्वराज सुवेदी कोरोना संक्तमणले पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको बताउँछन् । सौराहाका होटलमा मात्र बन्द हुँदा दैनिक ५६ लाख र रेस्टुराँमा ५२ लाख नोक्सानी हुने उनको भनाइ छ । सौराहाका होटलमा १५ अर्बभन्दा बढी लगानी छ ।

जिल्लाका सात पालिकामा होटल तथा रेस्टुराँ एक हजार १ सयभन्दा बढी छन् । तिनीहरुमा १० अर्बभन्दा बढी लगानी भएको भन्दै सुवेदी १२ हजार ५ सय ५० ले आंशिक रोजगारी पाएको जानकारी दिए । त्यसमा बन्द हुँदा दैनिक दुई करोड २० लाख नोक्सान भएको सुवेदीको भनाइ छ ।

मेघौलीमा पर्यटन क्षेत्रमा एक अर्ब लगानी भएको बताइन्छ । सोह्र उच्चस्तरका होटल रहेको मेघौलीमा ४ सय ५० मजदूरले काम गर्ने गरेको उल्लेख गर्दै उनले सिजनका समयमा दैनिक आठ लाख ५० हजार हाराहारी व्यापार हुने गरेको जानकारी दिए । चार अर्बभन्दा बढी लगानी भएको पटिहानीमा ७ सयले रोजगारी पाएका छन् । होटल राम्रो चल्दा दैनिक ११ लाखको व्यापार हुने तथ्याङ्क छ । जिल्लामा रिसोर्ट, होटल, जीप, डुङ्गा, हात्ती, टाँगामा ३० अर्बभन्दा बढीको लगानी छ । सुवेदीको भनाइमा जिल्लाका २ सय २५ पर्यटकस्तरीय होटलमा दैनिक एक करोड ५० लाख र अन्यमा एक करोड ५० लाख हाराहारी नै व्यापार हुने गरेकामा कोरोनाबाट प्रभावित बनेको हो ।

जिल्लामा आउने पर्यटकको पहिलो रोजाई जङ्गल सफारी हो । आर्थिक वर्ष २०७२\०७३ मा ८७ हजार ३ सय ९१ पर्यटक यहाँ घुमेका थिए । सोमध्ये नेपाली ३० हजार ५ सय ९२, सार्क मुलुकका छ हजार ६ सय ६, तेस्रो मुलुकका ५० हजार १ सय ९३ रहेका थिए । अघिल्लो वर्ष भूकम्प गएकाले त्यस वर्ष पर्यटकको संख्या निकै घटेको थियो । आर्थिक वर्ष २०७३\०७४ मा यो संख्या एक लाख ३९ हजार ९ सय ७८ रहेको थियो । त्यसमा ३६ हजार ५३ नेपाली, १५ हजार ९ सय ६ सार्क मुलुक र ८८ हजार १९ तेस्रो मुलुकका थिए ।

आव २०७४\०७५ मा क्रमश संख्या बढेर एक लाख ५२ हजार ६ सय ७१ पुगेको थियो । त्यसमा ३४ हजार ५० नेपाली, ९८ हजार ९ सय २५ तेस्रो मुलुक र १९ हजार ६ सय ९६ सार्कका रहेका थिए । त्यसको पछिल्लो वर्ष २०७५\०७६ मा यो सङ्ख्या बढेर एक लाख ८७ हजार १ सय ९ पुगेको थियो । त्यस वर्ष ४४ हजार ६ सय २३ नेपाली, सार्क मुलुकका २४ हजार ७ सय ७९ र तेस्रो मुलुकका एक लाख १७ हजार ७ सय ७ रहेका थिए । आव २०७६\०७७ मा मुख्य सिजन कोरोनाबाट प्रभावित नभएकाले पर्यटकको संख्या एक लाख ८२ हजार ४ सय ३५ पुगेको थियो । नेपाली ८९ हजार ४ सय ४१, सार्क मुलुकका १४ हजार २ सय ३९ र विदेशी ७८ हजार ७ सय ५५ रहेका थिए । चैतको पहिलो सातासम्म पर्यटक आएकाले तुलनात्मक हिसाबले संख्या राम्रो भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

गत वर्ष आव २०७२\०७३ कै हाराहारीमा ९२ हजार २ सय ९ पर्यटक मात्र यहाँ घुम्न आएको तथ्याङ्क छ । त्यसमा ८९ हजार ६ सय १ नेपाली, एक हजार ३ सय ६४ सार्क मुलुक र एक हजार २ सय ४४ तेस्रो मुलुकका छन् । रासस