१४ बैशाख २०८१, शुक्रबार

झलनाथ खनाललाई दिइएको उपचार खर्चबारे विवेकशील साझाले माग्यो सूचना

jhalnath khanal
फाइल फोटो

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाललाई दिइएको उपचार खर्चबारे विवेकशील साझा पार्टीले सूचनामा माग गरेको छ ।

आइतबार पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरीश भट्ट र बागमती प्रदेश संचार विभाग प्रमुख अन्जन कार्कीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैर कानुनी भएकोले त्यसलाई रोक्न माग गरिएको छ । जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा अनुसार प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध नगराइने उल्लेख छ ।

‘नेता खनाललाई नेपालको पूर्व प्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताको रूपमा हामी उहाँलाई सम्मान गर्दछौँ र आवश्यक परे हामी नागरिक स्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तयार छौँ, तर उहाँको लागि भनेर सरकारले गैर कानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौँ।’, पार्टीले आज बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।