१६ चैत्र २०८०, शुक्रबार

मनसुनको शुरुआतमै हेलम्बु र मेलम्ची क्षेत्रमा विपद्ले निम्त्यायो दुःख

60fd10b061051 badi

बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो ।

जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका– १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएर फुटेपछि ठूलो दुर्घटना हुन पुगेको थियो ।

विज्ञका अनुसार यसपाली अप्रत्यासितरुपमा लेदो र गेगरसहितको बाढी आउँदा अकल्पनीय क्षति भएको स्थानीय प्रशासनको भनाइ छ । विगतमा आएको जुरे पहिरो होस् या अन्य क्षेत्रका मनसुनजन्य घटना सिन्धुपाल्चोकका कतिपय बासिन्दाका लागि अकल्पनीय काल बनेर आएको छ ।

अर्काे दोस्रो बढी क्षति हुने मनाङ हो । त्यहाँ मानवीय क्षति हुन पाएन, तर ५९ घर पूर्ण क्षति भएको छ । झण्डै ५४ किलोमिटर सडक बाढी र पहिरोले भत्काएउँदा अहिलेसम्म सदरमुकाम चामे सडक सञ्जालबाट विच्छेद छ । सात वटा गाडी गुड्ने पुलसहित बेलिब्रिज, सरकारी भवन, स्कुलसमेत क्षति पुगेको छ । यहाँका चार जलविद्युत् आयोजनामध्ये दुई पूर्ण र दुईमा आंशिक क्षति छ ।

यसपाली मुलुकमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । मानवीय क्षतिको विवरण आइसके पनि भौतिक क्षतिको अझै यकीन विवरण आइनसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउनुहुन्छ ।

सिन्धुपाल्चोकमा बाढीपहिरामा परी पाँच जनाले ज्यान गुमाएका छन् । अझै २० बेपत्ता छन् भने छ जना घाइते भए । जिल्लामा ३३८ घर पूर्ण क्षति भएको छ । उक्त जिल्लामा सात पक्की पुल, १४ झोलुङ्गे पुल, १० वटा माछा फार्म र ३२ सरकारी भवन क्षत्विक्षत छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त अभिलेखानुसार मानवीय क्षतिका हिसाबले सिन्धुपाल्चोकपछि गोरखा र डोटीमा चार÷चार, पाँचथर, रोल्पा, रौतहट र दाङमा तीन÷तीन, पाल्पा, तनहुँ र दार्चुलामा पाँच÷पाँच जनाले ज्यान गुमाए ।

गत जेठ २८ मा नेपाल भित्रिएको यसपालिको मनसुनबाट हालसम्म ६५ जनाले ज्यान गुमाएका छन् । अन्य ३६ बेपत्ता र ६८ जना घाइते भएका छन् । कूल ५७६ घर पूर्ण र १५५ घरमा आंशिक क्षति पुगेको छ । विपद्बाट ३७ सरकारी कार्यालय, १३ स्कुल तथा सामुदायिक भवन, २५ जलविद्युत् आयोजना, २६ पक्की पुल र २६ झोलुङ्गे पुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ ।

प्राधिकणका प्रवक्ता विश्वप्रकाश अर्याल मनसुन भित्रिएपछिको अवधिमा सरकारले हेलिकप्टरबाट २७८ र स्थलमार्गबाट ४३२ गरी ७१० जनाको उद्धार गरेको बताउनुहुन्छ । जोखिम क्षेत्रका चार हजार ६०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची खोला किनारका १९६ घरमा स्थलगत र ड्रोनका माध्यमबाट स्थलगत निरीक्षण तथा अध्ययन गरी नोक्सानीको मूल्याङ्कन भइरहेको छ । देशभरिको क्षतिको विवरण अझै सङ्कलन जारी छ ।

यसपालीको मनसुनजन्य घटनाबाट क्षति बेहोरेको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सरकारले आवश्यक राहत, पुनःनिर्माण तथा पुनःस्थापनका कार्य अघि बढाएको छ । त्यसका लागि विश्व बैंकबाट थप २५ मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग प्राप्त हुने आश्वासन आइसकेको गृहमन्त्री बालकृष्ण खाँडले संसदीय समितिमा जानकारी गराइसक्नुभएको छ । मन्त्री खाँड भन्नुहुन्छ, “सरकारले मनाङको चामेलगायत सडक सञ्जाल नपुगेर अभावग्रस्त भएको क्षेत्रमा खाद्यान्न तथा औषधि हेलिकप्टरबाट ढुवानी गर्ने तयारी गरेको छ ।”

सरकारले मनसुनजन्य घटना तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ कार्यान्वयनमा ल्याएको छ । यस्तै विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७२ (प्रथम संशोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्याविधि २०७८, कार्यान्वयनमा रहेको र फिल्ड अनुसन्धान तथा पहिरो प्रभावित व्यवस्थापन प्राविधिक गाइडलाइन निर्माण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका कामलाई उच्च प्राथमिकता दिएको छ ।

सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान यसै वर्षबाट शुरु गरेको जनाइएको छ ।

अस्थायी आवास पुनःनिर्माण तीव्र

सरकारले विपद्बाट प्रभावितको पुनःस्थापनका लागि अस्थायी आवास पुनःनिर्माण कार्यक्रमलाई समेत तीव्ररुपमा अघि बढाएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट क्षति भएका आठ जिल्लाका ५७३ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि रु २ करोड ८६ लाख ५० हजार रकम असार मसान्तभित्र मै सम्बन्धित जिल्लामा पठाइएको प्राधिकरणको भनाई छ ।

गत वर्षको विपद्बाट क्षति पुगेका २२ जिल्लाका चार हजार ९३७ निजी घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि सङ्घीय सरकारकोतर्फबाट बेहोर्नुपर्ने प्रथम किस्ताबापतको रु २९ करोड ९९ लाख २६ हजार सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ ।

नेपालमा गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरि फैलिएको थियो । यसपालि सरदरभन्दा बढी नै पानी पर्ने आँकलन गरिएकाले पनि बाढी, पहिराको जोखिम विगतकोभन्दा बढी नै छ । नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन् । हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ । नेपालमा भिरालो जमीन, कमजोर भौगोलिक अवस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोबास, अव्यवस्थित शहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञले औँल्याएका छन् ।

खानी तथा भूगर्भ विभागका राजेन्द्र भण्डारी विश्वकै अग्लोदेखि निकै होचो भूभागसमेत नेपालमा रहेकाले पनि मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको बताउनुहुन्छ । विगतको तथ्याङ्क विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्मा बाढीबाट १७ लाख र पहिराबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको सुनाउनुहुन्छ । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । रासस