४ भाद्र २०७९, शनिबार

एकताबद्ध एमाले बनाउन लागिपरेका छौँ : नेता गुरुङ

Prthiv subba Gurung
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबैलाई एकै ठाउँमा ल्याएर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।

पार्टी निकट युवासङ्घ नेपाल गण्डकी प्रदेशको शनिबार पोखरामा कार्यालय उद्घाटन गर्दै उहाँले पार्टी अनुशासन तोडेर हिँडेकालाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आममाफी दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म माधव नेपालसहितको एकताबद्ध पार्टी बनाउँछौँ । त्यसो हुन नसके प्रभाव भएका नेताहरूलाई ल्याएर एमालेलाई नयाँ शिराबाट अघि बढाउँछौँ ।”

एमाले कमजोर हुँदा राष्ट्रिय स्वाधिनता कमजोर हुने र विकास निर्माणलगायतका काममा असर पर्ने भएकाले समेत जनताको चाहनासमेत एकतावद्ध एमाले भएको नेता गुरुङको भनाइ छ । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय चुनावमा एमालेले एकल बहुमत प्राप्त गर्ने गरी सङ्गठन निर्माण, विकास निर्माण र रुपान्तरणको काममा केन्द्रित हुन युवालाई उहाँले आग्रह गर्नुभयो ।

युवासङ्घका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले केपी शर्मा ओली सरकार र प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकारले गरेका राम्रा कामको जनतामा प्रचार–प्रसार गर्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभयो ।