
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने बताएका छन् ।
आयोगले हेडकाउन्टका लागि बोलाएपछि अध्यक्ष ठाकुरले आज कार्यकारिणी समितिको बैठक बोलाएका थिए । ठाकुर पक्षको आज बसेको कार्यकारिणी समितिको बैठकमा अधिकांश कार्यकारिणी सदस्यहरूले सोमबार निर्वाचन आयोग जाने कि नजाने जिज्ञासा राखेका थिए ।
बैठकमा सहभागी एक कार्यकारिणी सदस्यका अनुसार निर्वाचन आयोगलाई प्रक्रिया रोक्न अदालतले स्टे अर्डर जारी गर्छ, यदि दिएन भने त्यसपछि सोमबार के गर्ने भन्ने विषयमा आजको बैठकमा कुराकानी भएको हो ।
ती सदस्यका अनुसार बैठकमा अध्यक्ष ठाकुरले भने, ‘भोलि पाँच बजेसम्म सर्वोच्च अदालतको आदेशलाई पर्खौँ, जे आदेश दिन्छ, त्यसको आधारमा निर्णय लिनेछौँ ।’
पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरूपण गर्न निर्वाचन आयोगले एकताका समयमा गठित जसपाका कार्यकारिणी सदस्यहरूलाई आयोगमा उपस्थित हुन आदेश दिएको छ । महन्थ ठाकुर यसका विरुद्ध सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदनमा हेड काउन्टको प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न माग गरिएको हो ।
सो मुद्दाको भोलि सर्वोच्चमा पेसी छ । सर्वोच्च आदेश आएपछि कार्यकारिणी समितिको बैठकले सोमबारका लागि एउटा निर्णय गर्ने बताइएको छ । भोलि चार बजेका लागि पुनः कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।