
झापामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै लगे पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय तहहरूले बन्दाबन्दी (सिल) गर्न थालेका छन् ।
कोरोना संक्रमणदर उच्च नै रहेका स्थानीय तहहरूले आवश्यकता अनुसार वडा र पालिका नै सिल गर्न थालेका हुन् ।
झापाको कनकाई नगरपालिकाले साउन १६ गते सम्मलाई बन्दाबन्दी (सिल) गरिएको जनाएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै आजै राति १० बजेदेखि १६ गते राति १० बजेसम्मका लागि सबै वडा सिल गरिएको जनाएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय, बैङ्क तथा वित्तीय संस्था बन्द गर्न अनुरोध गरेको छ भने नगरपालिका र वडा कार्यालयहरूबाट अत्यावश्यक सेवाबाहेक सबै काम स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिनुभयो ।
यसअघि बुद्ध शान्ति गाउँपालिकाले गएको बुधवार रातिदेखि एक हप्ताका लागि सिल गरिसकेको छ भने अर्जुनधारा नगरपालिकाको वडा नं ८ ले हिजो (शुकबार )रातीदेखि १५ गतेसम्मका लागि शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्णरुपमा बन्द गरेको छ ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएकोले बजारलगायतका आसपासका क्षेत्र बन्द गरिएको वडाध्यक्ष गोपीचन्द्र गौतमले जानकारी दिनुभयो ।
झापामा दोस्रो लहरको संक्रमण फैलिएयता संक्रमण दर अपेक्षित रुपमा घट्न सकेको छैन । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर अझ बढ्दै गएको बताइन्छ ।