६ चैत्र २०८०, मंगलवार

खाजाको पैसा जोगाएर रत्ननगरका वृद्धवृद्धालाई विद्यार्थीको सहयोग

बृद्धबृद्धालाई सहयोग

रत्ननगरको स्काइराइडर माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले खाजाको पैसा जोगाएर वृद्धवृद्धालाई सहयोग गरेका छन् ।

इन्ट्याक्ट क्लब अफ स्काइराइडरमा आवद्ध विद्यार्थीहरुले असहाय वृद्धकल्याण समाजमा आश्रित वृद्धवृद्धाहरुलाई सहयोग गरेका हुन् ।
अभिभावकले विद्यालयमा खाजाको लागि दिएको पैसा बचाएर क्लबमा आबद्ध ३५ जना विद्यार्थीले वृद्धवृद्धालाई खिर खुवाएका छन् । उनीहरुले समाजमा आश्रित १२ जना वृद्धवृद्धालाई माक्स,सेनिटाइजर र साबुन पनि प्रदान गरेका छन् ।

क्लबकी अध्यक्ष आयुष्मा पोखरेल, निर्वतमान अध्यक्ष सदिक्षा उपाध्यायलगायत १८ जना विद्यार्थीहरु वृद्धाश्रममा पुगेर खिर खुवाउनुका साथै स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका थिए ।

विद्यार्थीहरुले वृद्धवृद्धालाई शारीरिक सरसफाइसँगै हातधुने तरिकासमेत सिकाएका छन् । सो अवसरमा क्लबकी अध्यक्ष पोखरेलले आफ्ना बाबुआमाले खाजाको लागि दिएको पैसा संकलन गरेर वृद्धवृद्धाहरुलाई सहयोग गरेको बताइन् । ‘थोरै थोरै पैसा जम्मा गर्दा पनि कार्यक्रम गर्न सक्ने पैसा संकलन भयो’ पोखरेलले भनिन्, ‘सबै जना मिलेर वृद्धाश्रमका बुवाआमालाई सहयोग गर्ने अवसर प्राप्त भयो ।’

वृद्धवृद्धालाई प्रदान गरिएको स्वास्थ्य सामग्री ओमसाइराम मेडिसिन सेन्टरका लक्ष्मीलाल श्रेष्ठले उपलब्ध गराएका हुन । क्लबले यस अघि विभिन्न विद्यालयमा दाँतसम्बन्धी स्वास्थ्य शिविर, वातावरण सरसफाइ तथा चेतनामूलक कार्यक्रम गर्दै आएको क्लबकी अध्यक्ष पोखरेलले जानकारी दिइन् ।