
निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आफूले वैधानिक रूपमा पार्टीको निर्णय बमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अदालत पुगेका छन् ।
अध्यक्ष ठाकुरको तर्फबाट प्रदीप कुमार पाठकले शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।
आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो ।
नेताहरुका अनुसार ११ साउनमा हेडकाउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर भएन भने उपेन्द्र यादव पक्षले आधिकारिता पाउनेछ ।
रिटमा जसपा नेपालको हेरफेर सहितको केन्द्रीय कार्यकारिणी समितिलाई अध्यावधिक नगरी विवाद निरुपणको प्रक्रिया अगाडि बढाउँदा हेरफेरबाट थपिएका सदस्यहरूको अधिकार खोसिने भन्दै अन्तिम किनारा नलागेसम्म सो निर्णय कार्यन्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश मागिएको छ ।
अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा हेड काउन्ट रोक्न माग गरिएको छ ।
कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निपरुण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने रिटमा दाबी गरिएको छ ।