
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नपालले देशको पछिल्लो राजनीतिक तथा समसामयिक सन्दर्भमा बोल्नुहुदै आफूहरुले संविधानको रक्षा गरेको बताउनुभयो ।
पछिल्लो समय पनि प्रतिनिधिसभा विघटन गरेर त्यसलाई पुनर्स्थापना नगर्ने चलखेल भए पनि आफूहरुले गठबन्धनका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जोगाएर संविधानसंवत् काम गरेकाे नेता नेपालको भनाइ थियाे ।
४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रद्वारा ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले नेता नेपालले पार्टीभित्र उत्पन्न भएको विवादको चर्चा गर्दै सो बताउनुभएको हो ।
एमाले पार्टी अध्यक्ष केपी शर्मा आलीले नेता नेपालसहित २२ जना सांसदलाई आममाफी दिइएको सन्दर्भमा बोल्नुहुदै उहाँले आममाफीको प्रवृत्ति विगतमका राजामहाराजकाे जस्तो भएको व्यङ्गात्मक शैलीमा आफ्नो धारणा राख्नु भएकाे थियाे ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा विप्लप समूहका धर्मेन्द्र बास्तोला, नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशी, नेकपा एमाले का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा नेता नेपालले अब निर्वाचनबाट भागेर हुन्छ ? भन्ने प्रश्न पनि गर्नुभयो ।
जनताको माझमा गएर कम्युनिस्ट पार्टीले जनजीविका लगायतका विषयमा उनीहरुको मन जित्नसक्नुपर्ने उहाँको भनाइ छ । नेता नेपालले लोकतन्त्र रक्षाका लागि कम्युनिस्ट पार्टीहरु सबैले समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । आफूहरु कम्युनिस्ट पार्टीको एकताको पक्षमा भएपनि पार्टी अध्यक्ष ओलीका कारण समस्या समाधान हुननसकेको आशय नेता नेपालले राख्नुभएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अस्वस्थताका कारणा उपस्थित हुन नसकेको बताइएको छ । यस्तै, नेकपा विप्लव समूहका नेता नेत्रविक्रम चन्द विप्लवको पनि कार्यक्रममा उपस्थिति रहेको थिएन ।