७ बैशाख २०८१, शुक्रबार

शेरबहादुर देउवा नेतृत्वको सरकारबाट जनताले धेरै आश नगरे हुन्छ : कमल थापा

kamal

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारबाट धेरै आशा गर्न नसकिने बताएका छन् । गठबन्धनबाट बनेको नयाँ सरकारप्रति विश्वासको वातावरण नभएकाले जनताले धेरै आश गर्ने ठाउँ नभएको उनको दाबी छ ।

राप्रपा मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरीत मुलुकमा धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको समेत उनको दाबी छ ।

कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत र नीतिगत भिन्नता नरहेको भन्दै थापाले अबको विकल्प राप्रपा मात्र भएको दाबी गरे ।

थापाले महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न मकवानपुरका कार्यकर्तालाई निर्देशन समेत दिए ।

मुलुकलाई स्थिर राजनीतिक प्रजातान्त्रिक संस्कारबाट अघि बढाउन राप्रपा पनि एक वैकल्पिक शक्तिका रुपमा महाधिवेशन मार्गचित्रबाट अघि बढ्ने दृढता व्यक्त गरेका छन् । सो अवसरमा राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव सागर थापाले पार्टीको आगामी महाधिवेशनबाट सक्षम नेतृत्व निर्वाचित गर्न र पार्टीलाई एक ढिक्का बनाई लैजान नेता तथा कार्यकर्ता गुटबाट अलग भई पार्टीप्रति निष्ठावान् हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।