४ बैशाख २०८१, मंगलवार

ओली पक्षको निर्णय: धारा ७६(५) सच्याउन संविधान संसोधन

uml comittee meeting

नेकपा एमालेको केन्द्रिय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे आफ्नो विमति जनतासम्म पुर्याउने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिँदा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि विश्वास जनाएका कारण दल त्यागसम्बधी कारबाही गर्न नपाउने फैसला गरेको थियो ।

सर्वोच्चको यही फैसलाका आधारमा एमालेको निर्देशन विपरीत माधवकुमार नेपाल सहित २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

एमालेले भने सर्वोच्चले अति न्यायिक सक्रियता देखाएर २८ असारको फैसला गरेको र यसले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको अवस्थालाई खलबल्याएको, संविधानको आधारभूत संरचनालाई नै कमजोर तुल्याएको बताएको छ । केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले पारित गरेको चारबुँदे विशेष प्रस्तावमा यो फैसलाले जस्केलाबाट निर्दलीयता छिराइएको निश्कर्ष निकालिएको छ ।

लगातार तेस्रो दिन जारी बैठकले विविध विषयमा चार वटा प्रस्ताव पारित गरको छ । ज्ञवालीका अनुसार सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको तथा दलीय प्रणाली खल्बल्याएकाले भन्दै यससँगका असहमतिहरु जनतामा पुर्याउने पहिलो प्रस्ताव छ ।

सर्वोच्चको फैसलाले पार्ने साइड इफेक्टलाई संवैधानिक माध्यमबाट समाधान गर्न प्रयास गर्ने निर्णय भएको ज्ञवालीले बताए । सर्वोच्च अदालतले संविधानको निर्दलीय व्याख्या गरेको भन्दै धारा ७६(५) लाई संसोधन गर्न पार्टीले प्रयत्न गर्ने निर्णय गरेको उनको भनाइ छ ।

यो फैसलाप्रति आफूहरुको गम्भीर असहमति, तर कार्यान्वयन गर्ने भन्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं र धारा ७६(५)को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउँछौं ।’

दोस्रो प्रस्तावका रुपमा ओली नेतृत्वको सरकार अनेकन प्रतिकुलताका वावजुद एतिहासिक कामहरु गर्न सफल भएको ठहर गरिएको छ ।

तेस्रो प्रस्तावमा एमालेले प्रतिपक्षका रुपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रका विषयलाई अग्रपंतिमा रहेर उठाउने उल्लेख छ ।

चौंथो प्रस्ताव कार्यकर्ताहरुलाई विद्यमान परिस्थितिबाट निराश नहुन आह्वान गर्दै छिट्टै पार्टील कमब्याक गर्ने भनिएको छ ।

कमब्याकको अर्थ के हो भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले भने, ‘यो भनेको फेरि चुनाव जितेर सरकारमा आउँछौं भनेको हो ।’

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रत्यत्न गर्ने बताएका थिए ।