१५ चैत्र २०८०, बिहीबार

देउवाले झलनाथको उपचार खर्च व्यहोर्ने आश्वासन दिएको अभिव्यक्तिमा गगन थापाको विरोध

Gagan thapa
फाइल फोटो

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनी हुने दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनी दिएको आश्वासनका सन्दर्भमा गगनको यस्तो प्रतिक्रिया आएको हो । उनले सामाजिक सञ्जालमा अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्नु नहुने उल्लेख गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, भन्ने व्यवस्था रहेको स्मरण गराएका छन् ।

उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’ यसअघि ओली सरकारले झलनाथको उपचार खर्च व्यहोर्ने भएपछि गगनले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । अहिले देउवाले पनि झलनाथसँग फोनमा कुराकानी गर्दै सरकारले खर्च व्यहोर्ने बताएका छन् ।

थापाले अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी देउवा सरकारले बोक्ने छैन भन्ने सामाजिक सञ्जालमार्फत सचेत पनि गराएका छन् ।

सामाजिक सञ्जालमार्फत सचेत:-

gagan 120