
हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक बुधबार बिहानैदेखि पुनः बन्द भएको छ ।
अविरल वर्षाका कारण पहिरो खसेर १३ दिनदेखि अवरुद्ध सडक मर्मतपछि सुचारु भएकोमा गतरातीको वर्षाले गर्दा पुनः सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रघुगंगा गाउँपालिका–३ गलेश्वरमा सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बताउनुभयो ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाटमा सडक अबरुद्ध भए पनि अन्य समयमा अबरुद्ध भै रहने अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से छहरा र काभ्रे भीरमा भने सडक सुचारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । राहुघाट क्षेत्रमा अवरुद्ध सडक खुलाउन ओम कार्यश्वर कन्ट्रक्सनको जेसिभी मेसिन ९डोजर० परिचालन गरी पहिरो पन्छाउने काम गर्दै गरेको भए पनि समय लाग्ने बताइएको छ ।
यसैगरी पश्चिम म्याग्दी हुँदै ढोरपाटन–जलजला भएर रुकुम जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पुनः सञ्चालनमा आएको छ । मालिका –६ दरबाङ नजिकै बाङ्गे पहिरो भन्ने ठाउँमा खसेको पहिरोको कारण सडक अबरुद्ध भएको छ ।
लामो समयदेखि बेनी–जोमसोम सडक बन्द हुँदा मालसामान ढुवानीका सवारीसाधन र सर्वसाधारणलाई समेत आवतजावतमा समस्या भैरहेको छ ।