१६ चैत्र २०८०, शुक्रबार

भोलिसम्म मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, यस्तो छ आकांक्षीको लर्को

rs ktm4
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ ।

चार मन्त्रीकै भरमा सरकार चलाइरहँदा विभिन्न प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा लाग्नु भएको हो ।

मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य नेताहरूबीच छलफल तिब्र भएको छ । तर अझै ठोस सहमति भने भइसकेको छैन ।

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र माओवदी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डबीच हिजो दुई पटक भेटवार्ता भएको थियो । एमालेको माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास तिब्र छ । त्यो प्रयासमा प्रधानमन्त्री देउवा आफैं पनि लाग्नु भएको छ भने माओवादी अध्यक्ष प्रचण्ड पनि सक्रिय हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गर्नु भएको थियो । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने निश्चित भएको छ । त्यही अनुसार दलबीच भागबन्डाको तयारी भइरहेको बुझिएको छ ।

भागबन्डामा कांग्रेसले सात मन्त्रालय आफूसँगै राख्न चाहेको छ । माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षलाई ६–६ मन्त्रालय दिने तयारी छ । एमालेको नेपाल पक्ष पनि सहभागी भए मन्त्रालयको संख्या घट्नेछ ।

मन्त्रीका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग आकांक्षीहरूले ‘लबिङ’ तीव्र पारिरहेका छन् । देउवासँग कांग्रेसभित्रैको रामचन्द्र पौडेल समूहले पनि उपप्रधानसहितको मन्त्रालयमा दाबी गर्दै आइरहेको छ ।

कांग्रेसले अब आफूले लिएका बाहेक चार मन्त्रालय पाउने सम्भावना छ । जसमा आफ्ना गुटकासँगै पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा हुनुहुन्छ । देउवाले महाधिवेशनका आकंक्षीलाई मन्त्री बनाएर व्यवस्थापन गर्ने योजना बनाउनु भएको छ ।

माओवादीको भागमा परेका मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशी श्रेष्ठले दाबी गर्नु भएको छ ।

हाल कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा दुई–दुई जना मन्त्री छन् । प्रधानमन्त्रीसहित अहिले मन्त्रिपरिषद् पाँच सदस्यीय छ । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ ।