१५ बैशाख २०८१, शनिबार

कुटपिट गरि हत्या गरेको आरोपमा पाँच पक्राउ

Pakrau. 750x375 1

कुटपीट गरि हत्या गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

सप्तरीमा दुई पक्षबीचको विवाद झडपमा परिाण्त हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेका पाँच जना आरोपीलाई पक्राउ गरेको हो । आइतबार राती पक्राउ परेका उनीहरुको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका ९ बस्ने ३२ वर्षीय नजबुल मियाँ, ५५ वर्षीय मो. कालिस मियाँ, ६० वर्षीय रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ र ३२ वर्षीय मो. जाकिर छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवान र इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले बोदेबरसाइन नगरपालिका ९ स्थित नेपाल– भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

डिएसपी काफ्लेका अनुसार गत असार २४ गते राती सोही वडा निवासी ४२ वर्षीय मो. दाउदलाई आरोपितहरुले लाठी, फट्टालगायतका घरेलु हतियारले आक्रमण गरेका थिए ।

स्थानिय छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएपछि आरोपितहरु फरार भएका थिए । दाउद एक म्यानपावर कम्पनीका लागि गाउँघरका यूवालाई बैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएका थिए । कुटपिटमा संलग्नहरुले भने अनुसारको काम नपाएको तथा विदेशमा आफन्त विचल्लीमा परेको भन्दै कुटपिट गर्दा दाउदको ज्यान गएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।