१४ बैशाख २०८१, शुक्रबार

धमाधम उल्ट्याउँदै नयाँ सरकार ओली सरकारले गरेका निर्णय

office of prime minister and council of nepal ghatana

सरकारले केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारका पालामा भएका निर्णय उल्टाउन शुरु गरेको छ ।

यसै सन्दर्भमा विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएका हुन् ।

यस्तै सरकारले हालसम्म कोरोनाविरुद्धको खोप उपलब्ध गराउने देशहरूलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि मित्रराष्ट्र र दातृनिकायलाई आह्वान गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, सरकारले भारतसँगको हवाई यातायातलाई सहज बनाउन हप्तामा थप हवाई उडानका लागि अनुमति दिने निर्णय पनि गरेको छ । विगतमा कोरोना संक्रमण बढेसँगै नेपालले भारतलगायतका अन्य मुलुकसँग हवाई उडान सेवा बन्द गरेको थियो ।

केही समयअघि भारतसँग हप्ताको दुईवटा उडानका लागि सरकारले अनुमति दिएको थियो भने अब हप्तामा छ वटा उडान गरिने बताइएको छ । यस्तै, बैठकले सिन्धुपाल्चोक र मनाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।

असोजसम्म सिन्धुपाल्चोक र मनाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्दै प्राथमिकताका साथ काम गर्ने कार्कीले जानकारी दिनुभयो । जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका साथै राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने प्रवक्ता कार्कीको भनाई छ ।

सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा भोली साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।