
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना पार्टीका सांसदलाई कारवाही प्रक्रिया अघि बढाएको छ । केन्द्रीय कमिटी बैठकले कारवाही गर्ने योजना अनुसार उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भोलिपल्ट सोमबार नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्यो र २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्यो ।
एमाले संस्थापन वरिष्ठ नेता माधवकुमार नेपाललाई स्वीकार नगर्ने निष्कर्षमा पुगेको छ । तर नेपालबाहेक देउवालाई भोट दिने अरुलाई फकाएर पार्टीमा राख्ने उसको योजना देखिएको छ ।
नेकपा एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने घोषणा आईतवार नै घोषणा गरेको थियो । र, त्यसै अनुसार उसले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदमाथि कारवाही अघि बढाएको छ ।
यो प्रक्रिया छिटो टुंग्याउने एमालेको तयारी छ । त्यसैले पार्टीको निर्णयविपरीत देउवालाई भोट दिने २२ जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
वरिष्ठ नेता नेपालसहित देउवालाई भोट दिनेमा अध्यक्ष केपी शर्मा ओली पक्षका पनि आठ जना छन् । तर पार्टी निर्णयविपरीत उनीहरुले जे गरे, त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने अक्षम्य अपराध भएको एमालेको ठहर छ ।
स्पष्टिकरण २२ जनालाई सोधिएपनि निशानमा माधवकुमार नेपाल देखिनुभएको छ । किनकी नेपाल पार्टीमा नफर्कने र फर्केपनि स्वीकार नगर्ने निष्कर्षमा ओली पक्ष पुगेको छ ।
त्यसैले २२ जना मध्ये नेपाल बाहेक अरु २१ जनालाई स्पष्टिकरण सोधेर फकाउने योजना छ । नेपाल खनाल समूहमा अन्तर्विरोध सिर्जना भएको र उपाध्यक्ष भीम रावलको सांसदबाट राजिनामा अनि ११ जना नेता सांसद देउवालाई भोट नदिएर तटस्थ बस्नु त्यसैको परिणाम भएको ओली पक्षको निष्कर्ष छ ।
बैठकमा अध्यक्ष ओली ‘माधव नेपालसँग कुनै हालतमा एकता हुन्न’ भन्ने मुडमा प्रस्तुत भएका थिए ।
नेता नेपाल नेपाली कम्युनिष्ट आन्दोलनकै गद्दार भएको दोहोर्याएका ओलीले अघि भनेका छन्, ‘अरु साथीहरु आत्मालोचना गरेर कमजोरी स्वीकार गर्दा हुन्छ, तर माधव नेपालले जे गरे पनि ठाउँ छैन ।’
आइतबार मात्र तत्कालीन कार्यदलका सदस्यहरुसँग भएको भेटमा नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको सुनाउँदै उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने अपराध गर्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’
माधवकुमार नेपाललाई सधैँ साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको बेला संसद बैठक छाडेका थिए भने भीम रावलले राजीनामा घोषणा गर्नुभएको थियो । नेपाल खनाल समूहमा अब देउवालाई प्रधानमन्त्री बनाउने र कार्यदलको सहमति स्वीकार गर्ने नगर्ने विषयमा विवाद छ ।
नेपालले त सहमति मान्दिनँ नै भन्नुभएको छ । तर ओली पक्षले नेपाल खनाल पक्षको माग अनुसार २०७५ जेठ २ गतेको अवस्थामा फर्केको भन्दै सोमवारको बैठकलाई दशौं मात्रै भनेन, कार्यदलको सहमतिको पनि स्वामित्व ग्रहण गर्यो । जसको उद्देश्य नेपाल खनाल पक्षका अरु नेतालाई फकाउने र तान्ने नै देखिन्छ ।
एमालेको नेपाल खनाल समूह र उपाध्यक्ष वामदेव गौतमले समेत बहिस्कार गरेको यो बैठकले बनाएको योजनाले काम गर्छ कि गर्दैन हेर्न बाँकी छ ।