८ बैशाख २०८१, शनिबार

निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ: प्रधानमन्त्री देउवा

parisangh pm

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी अभिवृद्धि गर्नु पर्नेमा जोड दिनुभएको छ । उद्योगी व्यवसायीहरुसंगको भेटमा प्रधानमन्त्री देउवाले लगानी वृद्धिका लागि सहजीकरण गर्न आफू तयार रहेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटको क्रममा प्रधानमन्त्री देउवाले आफ्नो दलले निजी क्षेत्रलाई सधैँ प्रवर्द्धन गरेको र उद्योग व्यवसाय क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ स्वदेशी अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने बताउनुभयो ।

उहाँले नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको सङ्कटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताउनुभयो ।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताउनुभयो । उहाँले नीतिगत सहजीकरण मार्फत लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।

आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन प्रयासरत रहेकोले त्यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिन पनि अध्यक्ष मोरले अनुरोध गर्नुभयो ।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताउनुभयो ।