१५ चैत्र २०८०, बिहीबार

जापान पठाइदिने भन्दै ठगी गर्ने चारजना पक्राउ

arest

जापान पठाई दिने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जापान पठाई दिने प्रलोभनमा पारेर विभिन्न बैंकको खातामा ३९ लाख ६८ हजार रुपियाँ डिपोजिट गर्न लगाएर जापान नपठाई सम्पर्कविहिन हुनेहरुलाई साेमबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगर पालिका वडा न–१२ पदमपोखरी घर भइ हाल काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, ईलाम सुर्योदय नगरपालिका वडा न–४ श्रीअन्तु घर भई हाल नयाँ बानेश्वरमै बस्ने ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न–९ राम्चे घर भई हाल काठमाडौंमा बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका वडा न–७ खरिपाटी, बासँबारी बस्ने २१ वर्षीया दीपिका केसी रहेका छन् ।

उनीहरुले सामजिक संजाल फेसबुकमा (तानाकायोका) को नाम प्रयोग गरी जापानको नागरिक हो भन्दै चिनजान गरी जापान जान (वकिंङ्ग) भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्ने भन्दै आएका थिए । प्रलोभनमा पार्ने काम गरेकाले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।