१६ चैत्र २०८०, शुक्रबार

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै लागौँ : अर्थमन्त्री शर्मा

janardan

र्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताउनुभएको छ । 

नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको जनाउँदै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने स्पष्ट पार्नुभयो । अर्थमन्त्रीले भन्नुभयो, “हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिती पनि कम रहेको देखेँ ।”

उहाँले यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ । अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैँ साथमा लिएर अघि बढ्ने बताउनुभयो । उहाँले औद्योगिक वातावरण सिर्जनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

“सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो”, मन्त्री शर्माले भन्नुभयो, “निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौँ, तपाईँहरूले लगानी बढाउनुस् ।” उहाँले आफू निजी क्षेत्रबाट रचनात्मक सुझाव र सल्लाह लिएर अघि बढ्ने पनि बताउनुभयो । उहाँले कोभिड– १९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले असल औद्योगिक क्षेत्रमा लगानीयोग्य वातावरण सिर्जना आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । 

कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले अर्थमन्त्रीमा नियुक्त हुनुभएकामा उहाँलाई नेपाल उद्योग परिसङ्घका तर्फबाट बधाई ज्ञापन गर्नुभयो । अध्यक्ष मोरले सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरुत्थान आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । निजी क्षेत्रलाई खोपमा प्राथमिकतामा राख्न पनि अध्यक्ष मोरले आग्रह गर्नुभयो । 

कोभिडले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता बोध गराइदिएको उल्लेख गर्दै उहाँले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो । 

परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले घोषणा गरेका नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड–१९ बाट कमजोर बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिबाट पनि सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गर्नुभयो ।