१६ चैत्र २०८०, शुक्रबार

समृद्धिको आकाङ्क्षा पूरा गर्नु सबैको साझा उद्देश्यः प्रधानमन्त्री

sherbadhur deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु सबैको साझा उद्देश्य भएको बताउनुभएको छ ।

नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन साझा गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सहकार्य र सहयात्राबाट नै अगाडि बढ्न सकिने स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उहाँले मुलुकका सामु रहेका चुनौतीलाई सबैको साझा प्रयत्नबाट मात्रै सम्बोधन गर्न सकिने बताउनुभयो । राजनीतिक दलको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको तथ्य पेश गर्दै प्रधानमन्त्री देउवाले यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव भएको स्पष्ट पार्नुभयो ।

बहुदलीय व्यवस्थामा फरक–फरक राजनीतिक विचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषय स्वाभाविक र राम्रो भएको प्रधानमन्त्रीको भनाइ छ । देशका सामु केही साझा चुनौती, उद्देश्य र गन्तव्य रहेको स्पष्ट पार्दै उहाँले सहकार्य र सहयात्रालाई अगाडि बढाउन आफू तयार रहेको बताउनुभयो ।