१५ चैत्र २०८०, बिहीबार

शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको रकम पाइएन

teacher

डोल्पो बुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ ।

मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी गर्न नसक्दा समस्या भएको हो ।

सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पोबुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो । उपल्लो डोल्पाको धोमा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन गर्न जाँदा स्थानीयवासी जङ्गलको जडीबुटी सङ्कलनका लागि गएका कारण आउन ढिला भएको उहाँको भनाइ छ ।

शिक्षकहरुको तलब गाउँपालिकाको खातामा आएका कारण भुक्तानी दिन सकिन्छ कि भन्नेमा आफू रहेको पंज्ञानीले बताउनुभयो । यहाँका तीनवटा सामुदायिक विद्यालयमा २६ र सङ्घसंस्थाबाट १० शिक्षक गरी ३६ जना कार्यरत छन् ।

सर्वसाधारण तथा उपभोक्ता धोस्थित कार्यालयमा आउन ढिलाइ गरेका कारण आफूहरु दुनै आउन समस्या भएको हुँदा सबै भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । गाउँपालिकाभरिका शिक्षकको तलबसमेत भुक्तानी दिन समय अभावले गर्दा नसकिएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गर्न आइतबार प्रदेश कार्यालयमा पत्र लेख्ने र आफैँ पनि जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । यता गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले कर्मचारीले काम नगर्दा पैसा फिर्ता गएको बताउनुभयो ।

मुख्यमन्त्री रोजगारको पैसा जनताले काम गरे पनि एक रुपैयाँ भुक्तानी दिन नसकेको उहाँको भनाइ छ । असार ३१ सम्म प्रणालीले काम गर्ला भन्ने भए पनि ३१ गते नचल्दा धेरै रकम फ्रिज भएको उहाँको भनाइ छ ।

समयमा काम नगर्ने कर्मचारीतन्त्रका कारण जनताले दुःख पाएको उहाँको भनाइ छ । त्यस्तै मुड्केचुला गाउँपालिकामा पनि जनताले काम गरेको रकमसमेत भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताउनुभयो । समयाभावका कारण भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । रासस