११ बैशाख २०८१, मंगलवार

यादव समुह सत्तापक्षमा बस्ने जसपाको संसदीय दलमापनि यादवको बहुमत

deuba prachanda upendra 1024x498 1
फाइल फोटो

जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवाद सम्बन्धी निर्वाचन आयोगले गठन गरेको इजलासमा वहस सुरु हुनु भन्दा २४ घण्टा अगावै संसदीय दलमापनि अध्यक्ष उपेन्द्र यादव समुहको बहुमत पुगेकोछ ।

जसपा यादव समुहको शनिवार बसेको संसदीय दलको बैठकमा १७ जना प्रतिनिधि सभा सदस्यको उपस्थिति रहेको थियो ।राष्ट्रियसभाका दुई जनापनि बैठकमा सहभागि थिए । निर्वाचन आयोगले आइतवार इजलासमा जसपाका यादव समुह र महन्थ ठाकुर समुहलाई प्रमाण सहित छलफलका लागि बोलाएको छ ।

कार्यकारिणी समितिमा बहुमतमा रहेको यादव समुहको शनिवारको संसदीय दलको बैठकमा समेत बहुमत पुगेको छ । ठाकुर समुहले हेला गरेका ५ जना सांसद शनिवार यादव समुहको संसदीय दलको बैठकमा सहभागि भएपछि यादवको पलडा भारी भएकोछ । प्रतिनिधि सभाका १२ जना सांसद यादवसित र २० जना ठाकुरसित रहेका थिए ।सत्ताको प्रभावमा पारेर ठाकुरले यादव पक्षका ५ जना सांसदलाई खेमा परिवर्तन गराएका थिए ।त्यस मध्ये २ जना फर्किएसँगै ठाकुर पक्षका ३ जना समेत यादव पक्षमा मिलेका छन् । ठाकुर पक्षका ५ जना सांसदले कित्ता परिवर्तन गरिसकेको र अझै ३ जना परिवर्तनको अन्तिम तयारीमा रहेको दावी यादव समुहले गरेका छन् ।

यससँगै अध्यक्ष यादव पक्षको संसदीय दलमा २० जना प्रतिनिधि सभा सदस्य र २ जना राष्ट्रिय सभासदस्य हुने छन् । यस अघि २० जना सांसदको हस्ताक्षर सहित संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र ठाकुरले संसद सचिवालयमा दर्ता गराएका थिए ।तर महतोले २० जना सांसद सहितको दलको बैठक गर्न नपाउँदै नेताबाट हटेका छन् ।प्रतिनिधि सभाको बैठकमा उनी दलको नेताको हैसियतले बोल्न नपाउँदै पदमुक्त भएको हो ।

महतोको नेतृत्व सबै क्षेत्रमा असफल हुन थालेको छ ।जसपा ठाकुर खेमाको नेतृत्वगर्दै सरकारको उपप्रधानमन्त्री बनेका महतो १९ दिनमै पदमुक्त भएका थिए । उनीसँगै सरकारमा गएका सबै हटेका थिए । अब दलको नेताबाटपनि उनी स्वतःहटेका छन् । ओली सरकार ढल्नु अघिसम्म ३२ जना सांसदमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद थिए ।

उपेन्द्र यादवले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति र सर्वोच्च अदालतमा दिएको समर्थनमा १२ जनाको मात्र हस्ताक्षर पेश गरेका थिए । अहिले उनको पक्षमा १७ जना सांसद पुगेका छन् । ठाकुर पक्षबाट सांसद तान्न सकृय रहेका प्रदीप यादवले जनाए अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल संसदीय दलको बैठकमा सहभागि भएका हुन् । रुहीनाज मिकरानीले टेलिफोनबाट समर्थन जनाएकी हुन् । उनी काठमाण्डु बाहिर रहेकाले टेलिफोनबाट समर्थन जनाएकी हुन् । मिकरानी यादवको तत्कालिन समाजवादी पार्टीबाट समानुपातिक सांसद हुन् । तर उनीपनि विमल श्रीवास्तव, उमाशंकर अरगडिया लगायतसँगै खेमा परिवर्तनगरि ठाकुर पक्षमा लागेकी थिइन् ।

‘अझै केही सांसदहरु उपत्यका बाहिर रहेको कारण बैठकमा आउन सकेनन्’ यादवले भने, थप ४ जना सांसद अझै सम्पर्कमा रहेका छन् ।यादव पक्षबाट ठाकुर तर्फ गएका रेणुका गुरुङ, राम दुलारी खत्वेपनि फर्किने पक्का रहेको बताइन्छ । प्रतिनिधि सभामा रहेका जसपाको ३४ जना सांसद मध्ये रेशम चौधरी जेलमा र हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित छन् । चौधरी ठाकुर समुहका र रौनियार यादव समुहका सांसद छन् । बाँकीको ३२ जना सांसद मध्ये दुवै समुहको १६÷१६ जना रहेपनि ठाकुर समुहले यादव समुहका ५ जना सांसदलाई चोरेपछि १२ जनामा खुम्चिएको थियो ।

ठाकुर समुहका महेन्द्र यादव यादव समुहमा पहिले देखि नै रहेका छन् ।ठाकुर तर्फ गएका ५ मध्ये ३ जना र ठाकुर पक्षबाट ४जना यादव पक्षमा आउने दावी गरिएको छ । ठाकुर पक्षमा रहेका राजकिसोर यादवले पनि शुक्रवार बसेको सो समुहको संसदीय दलको बैठकमा सहभागि भएनन् ।ठाकुर पक्षमा ३२ जना मध्ये ११ जना मात्र देखिएका छन् ।

ठाकुर पक्षले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाडने निर्णय लिएपछि सांसदहरुले धमाधम खेमा परिवर्तन गर्न थालेका छन् । उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले आइतवारदेखि सुरु हुने संसदको बैठकमा सत्तापक्षमा बस्ने निर्णय गरेको छ । यसअघि जसपा विपक्षीको बेन्चमा बस्दै आएको थियो । तर ठाकुर पक्षका सांसदहरु विपक्षमा बस्ने निर्णय शुक्रवार नै गरेका थिए ।

ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन नगर्ने निर्णयगर्दै विपक्षमा बस्ने निर्णय अल्पमतको संसदीय दलबाट गरेकाले त्यसलाई संसद सचिवालयले मान्यता दिने नदिने निर्णय हुन बाँकी छ ।संसदीय दलमा समेत अल्पमतमा परेका ठाकुर समुह राजनीतिक संकटमा परेका छन् ।